गृहपृष्ठ रसुवागढी नाकाबाट दैनिक दश कन्टेनर सामान आयात

रसुवागढी नाकाबाट दैनिक दश कन्टेनर सामान आयात

रसुवागढी नाकास्थित मितेरी पुल ।

रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिक रूपमा नेपाल भित्रने क्रम बढेको छ । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पुर्‍याउने गरेको छ ।

नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए । कोभिड- १९ उत्पत्ति भएयता गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको र भन्सार शुल्कबापत हालसम्म ५० करोड राजश्व असुल भएको जनाइएको छ । परीक्षणका लागि दैनिक आठ/दश कन्टेनर भन्सार हातामा प्रवेश गर्ने गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म टिमुरेले जनाएको छ ।

सामग्री लाद्ने कार्यका लागि ३२ भरिया र रसुवागढीबाट टिमुरेमा रहेको भन्सार हातामा कन्टेनर ल्याउन १७ चालकको व्यवस्थापन गरिएको सुरक्षा निकायले जनाएको छ । कोभिड- १९ को जोखिम न्यूनीकरण गर्न भरिया तथा चालकलाई रसुवागढी क्षेत्रमा छुट्टै बसोबासको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कन्टेनरका सामग्री भन्सार जाँचपास भएपछि सम्बन्धित सवारी साधनका चालकले आफ्नो गन्तव्यतर्फ लाने व्यवस्था मिलाइएको बताइएको छ । (रासस)

प्रकाशित समय १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु