गृहपृष्ठ राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने

राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने

चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब नाघ्यो

NRB_NewsKarobar

देशभरि कोरोना भाइरस संक्रमितहरूका संख्या चिन्तालाग्दो ढंगले बढ्न थालेपछि नयाँ नोट बाँड्दा त्यसकै लागि भीड बढ्ने देखिएपछि नेपाल राष्ट्र बैंकले यो वर्ष नयाँ नोट नबाँड्ने निर्णय गरेको छ ।

केन्द्रीय बैंकले आफ्ना सबै कार्यालयका नाममा सूचना प्रकाशित गरेर यो वर्ष दसैंमा नयाँ नोट नबाँड्न भनेको हो । ‘हाल यस बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भीडभाडबाट समेत संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको परिप्रेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनै पनि कार्यालयबाट बडादसैंको प्रयोजनका लागि नयाँ नोट सुविधा प्रदान गरिने छैन,’  राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

राष्ट्र बैंकले काठमाडौंस्थित मुद्रा व्यवस्थापन विभागसहित देशभरि रहेका राष्ट्र बैंकका ८ वटा कार्यालयबाट दसैंका अवसरका नयाँ नोट सटही गर्दै आएको थियो । दसैंका अवसरमा केन्द्रीय बैंकले दसैंका अवसरमा १० देखि १५ अर्ब रूपैयाँबराबरको नयाँ नोट निष्कासन गर्दै आएको छ, जसमध्ये काठमाडौं र विराटनगरबाट सबैभन्दा बढी नयाँ नोट जारी  हुने गरेको छ ।

दसैंका अवसरमा निष्कासित प्रायः नयाँ नोट टीकाको रंग लाग्ने र पानीले भिज्ने, केटाकेटीले कच्याककुचुक्क पारेर छिटै झुत्रिँइदा औसत आयुभन्दा निकै छिटो झुत्रिने गरेको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । दसैंका बेला प्रायः ५, १०, २०, ५० र १०० रुपैयाँ दरका साना नोटको बढी माग हुने राष्ट्र बैंकले जनाएको छ ।

वर्षभरि प्रचलनमा रहने यस्ता साना दरका नोटमध्ये दसैंका समयमा मात्र ९० प्रतिशतभन्दा राष्ट्र बैंकका ढुकुटीबाट बाहिर निस्कने गरेको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार वर्षभरि नै नयाँ नोट छाप्ने काम गरे पनि त्यो नोट एकै पटक बजारमा पठाइँदैन ।  बजारको आवश्यकताअनुसार केन्द्रीय बैंकले अड्कलेरमात्र नयाँ नोट प्रचलनमा पठाउँछ ।

एउटा नोटको औसत आयु ३ वर्ष मानिएकोमा हेलचेक्रयाइँका कारण साना दरका नोट औसतमा २ वर्ष पनि नटिक्ने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् ।

चलनचल्तीमा ६०२ अर्ब

हाल ६ खर्ब २ अर्ब रूपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । ‘विगतमा असोज-कात्तिकका समयमा चलनचल्तीमा रहेको मुद्रा औसत ४० देखि ५० अर्ब रूपैयाँ बराबरले बढ्ने गरेकोमा अहिले क्रमश: बढ्दै गएको देखिन्छ,’ डा. भट्टले भने, ‘अझै केही समय चलनचल्तीमा रहेको मुद्रा (सीआइसी) बढ्नसक्छ ।’

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु