गृहपृष्ठ जैविक नवीकरणीय ऊर्जामा एनएमबी बैंकको लगानी
जैविक नवीकरणीय ऊर्जामा एनएमबी बैंकको लगानी
एनएमबी बैंकले नेपालमा स्वच्छ ऊर्जा प्रवर्धनका क्षेत्रमा थप अर्को क्षेत्रमा सहकार्य अगाडि बढाएको छ । बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्वारा प्रवर्धन गरिएको गरिएको बकस रिन्युएबल ईनर्जी प्रालिसँग वायोमास पेलेट उत्पादन गर्नका लागि रु.१६ करोड वरावरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको हो ।
बकस रिन्युएबल ईनर्जीमा विश्व बैंक समूहको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) द्वारा प्रवर्धित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी फन्ड बिजनेस अक्सिजन प्राइभेट लिमिटेड (बीओटू) ले परियोजना विकास गर्नका लागि इक्विटीका रुपमा ५ करोड र बकस रिन्युएबल इनर्जी कम्पनीका प्रमोटरहरुको ५ करोड रूपैयाँ बरावरको लगानी छ ।
एनएमबी बैंकले प्रदान गर्ने १६ करोड बराबर रूपैयाँको कर्जा रकमलाई कम्पनीले वायोमास पेलेट मेसिन खरीद गर्ने कार्यमा र चालू पुँजीमा उपयोग गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने बनमारा तथा झाडीको वायोमासलाई पेलेटको रुपमा परिवर्तन गरेर औद्योगिक एवम् घरायसी ऊर्जाको लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने बकस रिन्युएबल ईनर्जीका अध्यक्ष सन्तोषमणि नेपालले जानकारी दिए ।
उनका अनुसार नयाँ प्रविधि प्रयोग गरेर उत्पादन गरिने नवीकरणीय ऊर्जा ‘बायोमास पेलेट’ले प पेट्रोलियम पदार्थ, एलपीजी र कोइलाजस्ता परम्परागत ऊर्जाको विकल्प प्रदान गर्नेछ ।
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ५ मा स्थापना हुने यो आयोजनाले प्रतिवर्ष १९ हजार ८२४ मेट्रिक टन बरावरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको छ । पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनाबाट प्राप्त गरिने जनाइएको छ ।
सागरनाथ वन क्षेत्रमा हरेक वर्ष उम्रने वनमारा तथा अन्य झाडीहरू यो उद्योगको लागि कच्चा पदार्थ हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनमा रहेका वनमारा तथा झाडीजस्ता वायोमास बकस रिन्यूएबललाई नियमानुसार २० वर्षका लागि उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिसकेको जनाइएको छ ।
प्रत्येक वर्ष सागरनाथ वन विकास परियोजनाले यस्ता झाडी तथा पातपतिंगर हटाई वन डढेलो नियन्त्रण गर्ने कार्यको लागि ठूलो रकम खर्च गर्दै आएको छ ।
‘यसले वन डढेलोले निम्त्याउने समस्या घटाउने, कोइला र जीवावशेष ईन्धनको औद्योगिक प्रयोग घटाउनका साथै वन क्षेत्रको वरपरका विपन्न र जोखिममा रहेका परिवारहरुलाई रोजगारी प्रदान गर्न यस प्रोजेक्टले महत्वपूर्ण भूमिका खेल्ने छ,’ नेपालले भने ।
यस कार्यक्रमवारे जानकारी प्रदान गर्न आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा बिजनेस अक्सिजन प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले भने “यो हाम्रा लागि अत्यन्त उत्साहजनक लगानी हो । यसबाट वातावरणीय अनुकूलनमा सहयोग पुग्ने र स्वच्छ ऊर्जाको क्षेत्रमा मार्ग प्रशस्त भई मुलुकभित्र नै कोइलाको विकल्प तयार हुनेछ ।’
बकस रिन्युएवल ईनर्जीका कार्यकारी निर्देशक कुवेरमणि नेपाल ईन्धनमा परनिर्भरता भएको देशले विगतमा भएका नाकाबन्दीबाट पाठ सिक्दै नेपालले आफ्नो देशमा खेर गइरहेको वायोमास उपयोग गरी नविनतम प्रविधिको प्रयोगबाट वैकल्पिक ऊर्जा उत्पादन गर्नु सकिने सम्भावना यसले उजगार गरेको बताए ।
‘कोइला तथा जीवावशेष ईन्धनको उपयोग कटौती गरी कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जाका संसाधनको प्रवर्धन गर्ने लक्ष्य भएको बीओटू को लगानी रहेको परियोजनासँग सहकार्य गर्न पाऊँदा अत्यन्त गौरवान्वित छौं,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने ।
उनले एनएमबी बैंकले स्वच्छ ऊर्जा प्रवर्धनका लागि हालैमात्र ५ अर्ब रूपैयाँभन्दा बढीको जलविद्युत आयोजनाहरूमा लगानीका लागि सहकार्य गरेको स्मरण गराउँदै यस्ता साना र नतिजा देखिने परियोजनामा सहकार्यले सम्भावनाको नयाँ ढोका खोल्ने बताए ।
‘यस्ता परियोजनाले वास्तविक रुपमा समाजको तल्लो तहसम्म पुगी विपन्न वर्गको जीवन रूपान्तरण गर्ने छन भन्ने अपेक्षाका साथ भविष्यमा पनि हामी यस्ता थुप्रै परियोजनाहरूमा लगानी गर्ने छौ भन्ने समेत विश्वास लिएका छौं,’ उनले भने ।
प्रकाशित समय १८:२५ बजे

















