गृहपृष्ठ पर्यटनबाट हुने आय ९० प्रतिशतले घट्यो
पर्यटनबाट हुने आय ९० प्रतिशतले घट्यो
रेमिट्यान्स आयमा ह्रास
कोरोना भाइरस महामारी नियन्त्रणका लागि लगाइएका विश्वव्यापी यात्रा प्रतिबन्ध, नेपालभित्र सरकारले लगाएको लकडाउनलगायतका कारणले पर्यटक आगमन ठप्प हुँदा त्यसको सोझो असर पर्यटकीय आम्दानीमा परेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनाको आर्थिक समीक्षाअनुसार यस अवधिमा यात्रा शीर्षकमा हुने आय केवल ९७ करोड ३७ लाख रूपैयाँमा सीमित भएको छ, गत आर्थिक वर्ष २०७६/७७ को पहिलो दुई महिनामा पर्यटन आय १० अर्ब २१ करोड १८ लाख रूपैयाँ थियो । यसरी पर्यटन आयमा ९०.५ प्रतिशत आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षभरिमा कुल पर्यटन आयमा १९ प्रतिशतले कमी आएको थियो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा पर्यटन आय ७५ अर्ब ३७ करोड रूपैयाँ रहेकोमा गत आवमा यस्तो आय ६० अर्ब ८८ करोड रूपैयाँमा झरेको राष्ट्र बैंकको समीक्षामा उल्लेख छ ।
नेपालीहरूले विदेश गएर गर्ने खर्च पनि ८० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको भदौ मसान्तसम्म नेपालीहरूले विदेश यात्रामा १४ अर्ब ६३ करोड रूपैयाँ खर्च गरेकोमा यस वर्ष केबल २ अर्ब ९२ करोड रूपैयाँमात्र खर्च गरेका छन्, यसमा शिक्षाका लागि बाहिरिएको २ अर्ब ४७ करोड रूपैयाँ पनि जोडिएको छ ।
गत वर्षको पहिलो २ महिनामा शिक्षाका लागि ७ अर्ब ६४ करोड रूपैयाँ बाहिरिएको थियो भने वर्षभरिमा २५ अर्ब ८१ करेड रूपैयाँ शिक्षाका लागि बाहिरिएको थियो ।
भदौमा रेमिट्यान्स आय घट्यो
लकडाउनपछिका दुई महिनासम्म घटेर त्यसपछि बढ्ने गतिमा देखिएको रेमिट्यान्सको स्पिडमा केही ब्रेक लागेको छ । आर्थिक वर्षको पहिलो २ महिनाको समग्र रेमिट्यान्स बढेको देखिए पनि मासिक तुलनामा भदौमा रेमिट्यान्स ६.३ प्रतिशतले घटेको छ ।
गत वर्षको भदौमा ७७ अर्ब ९० करोड रूपैयाँ रेमिट्यान्स भित्रिएकोमा यस वर्षको भदौमा भने ७३ अर्बमा झरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो विगत चार महिनाको मासिक औसतमा कम हो ।
लकडाउनपछि चैतमा ३४.५ अर्ब र वैशाखमा ५४ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएकोमा जेठदेखि लगातार वृद्धिको गतिमा थियो । जेठमा ९४ अर्ब रेमिट्यान्स भित्रिएकोमा असारमा १ खर्ब १ अर्ब र साउनमा ९२.७ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
राष्ट्र बैंकका अनुसार पहिलो २ महिनामा नेपाल भित्रने रेमिट्यान्स ८ प्रतिशतले बढ्दा यहाँबाट बाहिरिने रेमिट्यान्सबापतको रकम गत वर्षका तुलनामा १२ प्रतिशतले बढेको छ ।
विभिन्न बैंकमा कार्यरत, एयरलाइन्सहरूमा कार्यरत र अन्य व्यावसायिक प्रतिष्ठानमा कार्यरत विदेशीले नेपालबाट औपचारिक माध्यमबाट रेमिट्यान्स आफ्नो देश पठाउँछन् ।
राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो २ महिनामा नेपाल भित्रिने रेमिट्यान्स ८ प्रतिशतले बढेर १ खर्ब ६४ अर्ब ७९ करोड रूपैयाँ पुग्दा नेपालबाट बाहिरिने रेमिट्यान्स पनि १२ प्रतिशले बढेर ९३ करोड ८९ लाख रूपैयाँ पुगेको छ ।
प्रकाशित समय १६:१० बजे

















