गृहपृष्ठ कुन देशबाट भित्रिन्छ अर्बौं मूल्यको सामान ? भन्सार विभागलाई नै छैन जानकारी
कुन देशबाट भित्रिन्छ अर्बौं मूल्यको सामान ? भन्सार विभागलाई नै छैन जानकारी
भन्सार विभाग मुलुकको वैदेशिक व्यापारको यकिन हिसाबकिताब राख्ने निकाय हो । तर, विभागले सार्वजनिक गर्ने एउटा तथ्यांकमा करोडौँ, अर्बौं मूल्यको सामान कुन देशबाट आयो भन्ने खुलेको हुँदैन । यस्तो तथ्यांकलाई विभागले ‘नट स्पेसिफाइड’ कन्ट्रीको सूचीमा राख्ने गरेको छ ।
आर्थिक वर्ष २०७३/७४ देखि अर्बौं मूल्यको सामान कुन देशबाट सामान भित्रियो भन्ने रेकर्ड विभागसँग नभएको पाइन्छ । त्यसअघिको तथ्यांकमा ‘नट स्पेसिफाइड’ शीर्षक छैन । आव २०७३/७४ मा २ अर्ब ५५ करोड, २०७४/७५ मा ३३ अर्ब ९५ करोड, २०७५/७६ मा ५ अर्ब ७४ करोड र आव २०७६/७७ मा ३ अर्ब २८ करोड रुपैयाँको सामान कुन देशबाट आयो भन्नेमा विभाग बेखबर छ । त्यस्तै चालू आवको असोजसम्ममा ८५ करोड ४४ लाख ९७ हजार रूपैयाँबराबरको सामान कुन देशबाट भित्रियो भन्नेमा विभाग अनभिज्ञ छ ।
विभागका महानिर्देशक सुमन दाहाल आयात-निर्यातकर्ताले प्रज्ञापन पत्रमा देशको नाम उल्लेख नगरिएका कारण त्यस्तो भएको हुनसक्ने बताउँछन् । ‘फाराममा भर्नुपर्ने कुरा धेरै हुन्छन्,’ उनी भन्छन्, ‘तर आयात-निर्यातकर्ताले देशको नाम छुटाइदिए भने पुनः संकलन गर्न नसकिने भएकाले नट स्पेसिफाइड भनेर राख्नुपर्ने हुन्छ ।’ विभागले आयात-निर्यात हुने वस्तुको तथ्यांक विशिष्टीकृत ढंगले राख्न फारामलाई अझ परिष्कृत बनाउँदै लगेको उनले जानकारी दिए । ‘तथापि कतिपय तथ्यांकमा अझै कमजोरी भइरहेको छ,’ महानिर्देशक दाहालले भने, ‘देशको नाम राख्ने कुरालाई पनि अब म्यान्डेटरी बनाउँछौँ ।’
आर्थिक कूटनीतिमा कुन देशबाट कति मूल्यको कुन सामान भित्रियो अथवा कुन देशमा कति मूल्यको कुन सामान निर्यात भयो भन्ने कुराले ठूलो अर्थ राख्छ । वैदेशिक व्यापार नीति बनाउन यस्तो तथ्यांकको महत्व ठूलो हुने भएकाले विभागले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने व्यापार विज्ञहरू बताउँछन् ।
४१ मुलुकसँग एकतर्फी व्यापार
नेपालले ४१ मुलुकसँग एकतर्फी व्यापार गरेको छ । विभागको चालू आवको पहिलो तीन महिनाको तथ्यांकअनुसार नेपालले ९ देशमा सामान निर्यातमात्र गरेको छ भने ३२ देशबाट आयातमात्र गरेको छ ।
वार्षिक १ लाख रुपैयाँभन्दा कम मूल्यको सामान आयात-निर्यात हुनेबाहेकका देशको तथ्यांकअनुसार नेपालले तीन महिनामा एंगुइला, अजरबैजान, चाड, कंगो, डोमिनिका, लाइबेरिया, मोनाको, न्यु क्यालेडोनिया र उरुग्वेमा सामान निर्यातमात्र गरेको छ । त्यस्तै बेलारुस, बेनिन, बर्मुडा, बोलिभिया, कोमोरस, कोस्टा रिका, साइप्रस, डोमिनिकन रिपब्लिक, इक्वाडर, इजिप्ट, गाबोन, ग्वाटेमाला, इराक, जोर्डन, केन्या, उत्तर कोरिया, लात्भिया, मडागास्कार, माल्टा, नामिबिया, नाइजेरिया, ओमन, पपुवा न्यु गिनी, पराग्वे, पुर्तो रिको, रिपब्लिक अफ मोल्दोभा, सर्बिया, सिरिया लियोन, स्वाजिल्यान्ड, युगान्डा, भेनेजुयला र यमनबाट सामान आयातमात्र गरेको छ ।
प्रकाशित समय १४:१६ बजे

















