गृहपृष्ठ रिलायन्स लाइफको खुद बिमा शुल्कमा ९२ प्रतिशत वृद्धि

रिलायन्स लाइफको खुद बिमा शुल्कमा ९२ प्रतिशत वृद्धि

रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ करोड ५२ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । यो बिमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा २२ करोड २८ लाख रुपैयाँ अर्थात् ९१.९७ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २४ करोड २३ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको थियो ।

खुद बिमा शुल्कसँगै कम्पनीको खुद नाफा पनि बढेको छ । असोजसम्ममा कम्पनीले खुद नाफा ६२.४३ प्रतिशतले बढाएर ३ करोड ७३ हजार रुपैयाँ पुर्‍याएको छ । कम्पनीले गत वर्षको असोजसम्ममा एक करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

आईपीओ जारीपश्चात् २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख रुपैयाँ छ । त्यस्तै, गत आवको असोजसम्म ५३ करोड ५२ लाख रुपैयाँ रहेको जीवन बिमा कोषमा एक अर्ब ३९ करोड रुपैयाँ सञ्चित भएको छ । कम्पनीले महाविपत्ति कोष पनि बढाएर एक करोड ९२ लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १०९.१५ रुपैयाँ छ ।

रिलायन्स लाइफले हालसम्ममा ६६ हजार ११३ वटा बिमालेख जारी गरी ३ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । असोज मसान्तसम्ममा १२ वटा दाबीबापत ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरिसकेको र चारवटा दाबीबापत ४७ लाख ५० हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित समय १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु