गृहपृष्ठ ‘प्रचण्ड समूह’लाई ओलीको जवाफ- बस्ने र बैठक ? हुन्छ बसौँला

‘प्रचण्ड समूह’लाई ओलीको जवाफ- बस्ने र बैठक ? हुन्छ बसौँला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का असन्तुष्ट समूहले केन्द्रीय सचिवालय बैठक सहमतिमा आइतबार या सोमबार डाक्न गरेको लिखित आग्रहबारे अध्यक्ष केपी शर्मा ओलीले असहमित प्रकट गरेका छन् । ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बालुवाटार पुगेका थिए ।

छलफलका क्रममा ओलीले बैठक बस्ने कुराप्रति हलुका जवाफ दिएका थिए । ‘बस्ने र बैठक ..? हुन्छ बसौँला । समय मिलाउनुपर्छ,’ ओलीको प्रतिक्रियाबारे नेकपाका एक नेताले बताए । बैठकअघि छलफल र दुई अध्यक्षबीच सहमति हुनुपर्ने पनि ओलीले धारणा राखेका थिए ।

बैठकबारे ओलीले कुनै निष्कर्ष नदिएको प्रवक्ता नारायण काजी श्रेष्ठले बताएका छन् । आफूहरुले सकेसम्म छिटो भोलि या पर्सि नै बैठक डाक्न सहमत हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको उनले बताए ।

बालुवाटार जानुअघि प्रचण्डको अध्यक्षतामा सचिवालयको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो । यसअघि शुक्रबार बसेकाे बैठकबाट ओलीलाई बैठकका लागि लिखित अनुरोध गर्ने निर्णय भएकाे थियाे । शुक्रबारको बैठकपछि अध्यक्ष ओलीले ‘पार्टी फुटको बिन्दु त्यहीबाट सुरू हुने’ चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीले पार्टी बैठक नबस्ने र बैठकले कुनै निर्णय गरेमा पार्टी विभाजन हुने बताउँदै आएका छन् । उनले आफू निकटसँग अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने वा अन्य कुनै कदम चाल्ने भन्ने विषयमा निरन्तर परामर्श गरिरहेको प्रचण्डपक्षीय नेताहरूकाे आरोप छ ।

कर्णाली प्रकरण, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, राजदूत नियुक्ति र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कुटनीतिक मर्यादाविपरित गरेको भेटले नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

प्रकाशित समय १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु