गृहपृष्ठ घुस लिएको अभियोगमा इन्जिनियरसहित दुई पक्राउ
घुस लिएको अभियोगमा इन्जिनियरसहित दुई पक्राउ
नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बट्टार बजारबाट पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पु-याउने बेलकोटगढी नगरपालिका ८ का नारायण भट्टलाई अख्तियारले पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई बट्टार बजारस्थित एक होटलबाट पक्राउ गरिएको अख्तियारका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । सेवाग्राहीसँग रकम माग गरेको अडियो रेकर्ड, घटनास्थलमा गरिएको ‘रंगेहात परीक्षण’ र अख्तियारमार्फत सेवाग्राहीले दिएको ७५ हजार बरामद भएसँगै ‘घुस रिसवत भ्रष्टाचार’ मुद्दामा कारबाहीका लागि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौँले कारबाहीका लागि विशेष अदालतबाट हिरासतमा राख्न म्याद लिएर अनुसन्धानपश्चात मुद्दा दायर गर्ने जनाएको छ ।
प्रकाशित समय १८:३१ बजे

















