गृहपृष्ठ नेकपाभित्र अनेक ‘हर्कत’ : विघटित कार्यदलका सदस्यहरुले दुवै अध्यक्षसँग भेट्दै

नेकपाभित्र अनेक ‘हर्कत’ : विघटित कार्यदलका सदस्यहरुले दुवै अध्यक्षसँग भेट्दै

आन्तरिक विवादमा फसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हरेक गतिविधि अहिले चासोको विषय बनेको छ । सत्ताधारी दलले गर्ने निर्णयबाट सरकार र सरकारको कामकारबाही नै प्रभावित हुनसक्ने भएकाले पनि नेकपाले सबैको ध्यान खिचेको हो ।

फुटबाट पार्टीलाई जोगाउन हो या ‘व्यवस्थित फुट’का लागि हो, नेकपाभित्र अनेक ‘हर्कत’ भइरहेका छन् । पार्टी विवादमा राष्ट्रपतिसमेत मुछिएको लगायतका यस्तै हर्कतबीच आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन भइसकेको कार्यदलका सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । पार्टीभित्रको विवाद सुल्झाउन साउन ३० गते कार्यदल बनाइएको थियो । महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलका सदस्यहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन् ।

यही कार्यदलले बनाएको प्रतिवेदनका आधारमा स्थायी कमिटीले निर्णय गरेको थियो । कार्यदलले पेस गरेको प्रतिवेदन कार्यान्वयनमा समस्या र नेताहरुको आ-आफ्नै बुझाइ भएपछि थप छलफलका लागि बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो । ओलीसँगको भेटपछि कार्यदलले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने जनाइएको छ ।

प्रचण्डले शुक्रबार र शनिबार सचिवालयको अनौपचारिक बैठक गरेपछि नेपकपाभित्रको विवाद थप चर्किएको छ । पार्टी कार्यालय धुम्बाराहीमा दुई दिन बैठक बसेपछि प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गाैतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले शनिबार ओलीलाई भेट गरेर सचिवालय बैठकको मागसहित शनिबार लिखित पत्र बुझाएका थिए ।

त्यसयता ओलीले पनि पूर्वएमालेका नेताहरूसँगको भेटघाट र छलफल बढाएका छन् । उनले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग ओलीले छलफल गरे । भेटवार्ताका क्रममा ओलीले महाधिवेशनपछिको नेतृत्व नेता नेपालले लिनेगरी पूर्वएमाले मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको नेकपाका एक नेताले बताए ।

महाधिवेशनपछिको नेतृत्व नेता नेपालले लिनेगरी पूर्वएमाले मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको नेकपाका एक नेताले बताए । ओलीले पार्टी बैठक नबस्ने र बैठकले कुनै निर्णय गरेमा पार्टी विभाजन हुने चेतावती दिँदै आएका छन् । उनले अध्यादेश ल्याएर भए पनि पार्टी विभाजन गर्ने वा अन्य कुनै कदम चाल्ने भन्ने विषयमा आफू निकटसँग निरन्तर छलफल गरिरहेको प्रचण्डपक्षीय नेताहरूकाे आरोप छ ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु