गृहपृष्ठ मानुङमा १० मेगावाटको सौर्य ऊर्जा प्लान्ट विकास गरिने
मानुङमा १० मेगावाटको सौर्य ऊर्जा प्लान्ट विकास गरिने
पछिल्लो समयमा आकर्षक पर्यटकीय गन्तव्य बनेको तनहुँको मानुङमा १० मेगावाटको सौर्य ऊर्जा प्लान्ट राखिने भएको छ । सौर्य ऊर्जा उद्यमी पूर्णबहादुर परियारले नेपालमै नमूनाका रूपमा पहिलो सञ्चय (स्टोरेज)मा आधारित प्लान्टका लागि प्रक्रिया अगाडि बढाएका हुन् ।
‘नेपालमा सौर्य र जलविद्युत ऊर्जालाई एकीकृत रूपमा उपयोग गर्न सकिने गरी सौर्य ऊर्जा सञ्चयमा आधारित प्रविधि विकास गरिसकिएको छ, यो नेपाली जनशक्तिको सहभागितामा विकसित प्रविधि हो,’ सोर्स एन्ड सोलुसन्स प्रालिका प्रमुख कार्यकारी अधिकृत परियारले भने, ‘यही प्रविधिको उपयोग गरेर मानुङमा पहिलो र नमुनाका रूपमा १० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्न लागिएको हो ।’
तनहुँको मानुङमा सौर्य र वायु ऊर्जाको मिश्रण गरी हाइब्रिडमा आधारित नमूना आयोजना बनाउन लागिएको हो । त्यहाँ वायु ऊर्जा उत्पादनका लागि अहिले प्रयोग भइरहेको परियारले जानकारी दिए । मानुङमा स्थापना हुने सौर्य ऊर्जा परियोजना निजी क्षेत्रबाट स्थापित सबैभन्दा ठूलो सौर्य परियोजना हुने उनको दाबी छ ।
थाइल्यान्डमा ३६ मेगावाटको सञ्चयमा आधारित (रिजर्भवायर) सिरिङ डोङ जलविद्युत परियोजनामा सौर्य ऊर्जा र जलविद्युत आयोजनालाई मिश्रण गरी ऊर्जा उत्पादनमा उपयोग भइरहेको छ, यो हालसम्मकै सबैभन्दा ठूलो मिश्रित प्रणाली (हाइब्रिड)को परियोजना हो । फिनल्यान्ड र जापानको प्रविधिलाई मिश्रण गरी अफ्रिकामा व्यापक सफल भएको कम खर्चिलो यो प्रणाली नेपालजस्तो मुलुकमा उपयोगी भएको उनको भनाइ थियो ।
‘नेपालमा हामीले सौर्य ऊर्जा र जलविद्युत आयोजनालाई मिश्रण गरी २४ सै घण्टा, पानीको बहाव कम भएका बेलामा समेत नियमित उर्जा उत्पादनको यही प्रविधि विकसित गरेका छौँ,’ परियारले भने, ‘यो नेपाल जलविद्युत उद्यमीका लागि ठूलो उपलब्धीको विषय हो ।’
हाल नेपालमा रहेका प्रायः सबै जलविद्युत आयोजनाहरू नदी प्रवाही (रन अफ दि रिभर) पद्धतिमा आधारित छन्, हिउँद याममा नदीको जलसतह घट्दै जाँदा औसतमा ५० प्रतिशतभन्दा कममात्र विद्युत् उत्पादन हुने गरेको छ ।
‘यदि हामीले हाइब्रिड प्रविधिमा आधारित रहेर जलविद्युत आयोजना गृहमै सौर्य ऊर्जा प्लान्ट जोड्ने हो भने पानीलाई सञ्चय गरी तालिका बनाएर रातका समयमा त्यसबाट विद्युत उत्पादन गर्न सकिन्छ भने बाँकी समय सौर्य ऊर्जा प्लान्टबाट विद्युत उत्पादन गरी ग्रिडमा पठाउन सकिन्छ,’ परियार भन्छन्, ‘थाइल्यान्ड र अफ्रिकामा यो प्रणालीको परिक्षण र विकास भइसकेको छ भने हामी नेपालमा पनि तुरुन्त योजना बनाएर लागू गर्न तयारी अवस्थामा छौं।’
यो हाइब्रिड प्रविधि अवलम्बन गरेपछि हिउँद याममा उत्पादन कम हुँदा बैंकको ब्याज र अन्य महसुलको भार झेल्दै आएका लघु, साना तथा मझौला उद्यमीहरूलाई ठूलो राहत पुग्ने उनको भनाइ छ ।
विशेषतः ग्रामीण क्षेत्रमा सञ्चालित लघु तथा साना जलविद्युत आयोजनाहरू हिउँद याममा पानीको बहाव कम हुँदा लगभग बन्द नै हुने गरेका छन् । यो प्रविधिले यस्ता लघु तथा साना जलविद्युत आयोजनादेखि राष्ट्रिय ग्रिडमा आधारित विद्युतको पहुँच कम भएका क्षेत्रमा पनि लाभ पुग्ने परियारले विश्वास व्यक्त गरे ।
यो बाहेक राष्ट्रिय ग्रिडमा आधारित विद्युतको पहुँच कम भएका क्षेत्रमा सौर्य ऊर्जामा आधारित मिनीग्रिड परियोजनाहरू पनि सञ्चालन गरिने परियारले बताए ।
‘प्रसारण लाइन नपुगेका गाउँ वा सहरोन्मुख गाउँहरूमा त्यहाँ उपभोक्ताहरूको आवश्यकतालाई समेटेर मनग्य पुग्ने गरी सौर्य ऊर्जाबाट नै विद्युत उत्पादन र २४ सै घण्टा आपूर्ति गरिनेछ,’ परियार भन्छन्, ‘सञ्चयमा आधारित सौर्य ऊर्जा प्रविधि विकासका लागि हामीले विश्वव्यापी रूपमा कपीराइट पनि पाइसकेका छौं, यो हाम्रो आफ्नै गर्व गर्न लायक प्रविधि हो ।’
‘यो प्रविधिबाट कृषि,पर्यटन, उद्योगसबैलाई समेटेर हरेक घर,विद्युत घर (पावरहाउस) बनाउने र भोलि प्रसारणलाइन आएको खण्डमा पनि त्यो लगानी र संरचना खेर नजाने प्रविधि विकास गरिएको छ,’ परियार भन्छन्, ‘भविष्यमा प्रसारण लाइन बनेको खण्डमा पनि सौर्य ऊर्जालाई पुन: प्रसारण लाइनमा नै गाभ्न सकिन्छ, त्यो लगानी र संरचना खेर जाँदैन।’
व्यावसायिक रूपमा स्थापना गरिने यस्तो हाइब्रिडमा आधारित सौर्य ऊर्जाका लागि नेपालका केही ‘क’ वर्गका वाणिज्य बैंकहरूले लगानीका लागि उत्साह देखाएको उनले जानकारी दिए ।
प्रकाशित समय १६:०१ बजे

















