गृहपृष्ठ सुरु भयो पर्वतीय उडान : काठमाडौंबाट गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजंघासम्म
सुरु भयो पर्वतीय उडान : काठमाडौंबाट गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजंघासम्म
नेपाली यात्रु तथा आवासीय विदेशी नागरिक र भारतीयका लागि छुट्टाछुट्टै प्याकेज
लकडाउनको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान सुरुआत भएको छ । कोभिड- १९ संक्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिक रुपमा खुलेको हो ।
महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान सुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटीआर- ७२ र दुई थान एटीआर- ४२ जहाजमार्फत तीन उडान गर्यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए ।
त्यस्तै यती एयरलाइन्सले एक एटीआर- ७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको कम्पनीले जनाएको छ । यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन् । यात्रुको माग बढेमा उडान थप्ने उनीहरुको योजना छ ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सुरुआती पर्वतीय उडान उत्साहवर्द्धक रहेको र थप उडानको बुकिङसमेत राम्रो रहेकाले बिचमा उडान संख्या पनि बढाउन सकिने बताए । यतीले हरेक शनिबार दुई पर्वतीय उडान गर्नेछ । बुद्ध एयरले पनि तीन उडान गर्ने जनाएको छ । सामान्य अवस्थामा बुद्धले पर्यटकीय मौसममा दैनिक आठदेखि नौ र कम्तीमा चार उडान गर्ने गरेको थियो । बुद्धले पर्वतीय उडानका लागि आठ हजार ९०० भाडादर तोकेको छ ।
अहिले पर्वतीय उडानका लागि अनुकूल मौसम मानिन्छ । सर्वोच्च शिखर सगरमाथा सहितका आकर्षक एवं मनोरम हिमश्रृंखला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् ।
पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । नेपालमा कोभिड नियन्त्रणका लागि गत चैत ११ देखि देशभार लागू भएको लकडाउन र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तर्राष्ट्रिय नियमित उडान सुरु भएको थियो ।
आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी एयरलाइन्सले छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गरेका हुन् । बुद्ध र यतीले पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरेका छन् । कोरोना संक्रमण कायमै रहेको र विदेशी पर्यटक उल्लेख्य संख्यामा नआएकाले पनि एयरलाइन्सले आन्तरिक पर्यटकलाई आकर्षण गर्न उडान सुरु गरेका छन् । शनिबार बिदाको समय भएकाले परिवार आफन्त तथा साथीभाइ घुम्न सहज र सुलभ होस् भन्ने हेतुले अहिलेलाई अफर ल्याइएको एयरलाइन्सले जनाएका छन् ।
१० महिनापछि यतीको पहिलो उडान
झण्डै १० महिनापछि आज यती यरलाइन्सले पहिलो पर्वतीय उडान गरेकोे छ । कम्पनीले प्रत्येक आज एउटा उडान गर्नेगरी बुकिङ सुरु गरेको भए पनि यात्रुको मागबमोजिम दुई उडान गरिएको विज्ञप्तिमार्फत जनाएको हो । एयरलाइन्सका हवाई सुरक्षा प्रमुखसमेत रहनुभएका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको माग बढेकाले अब प्रत्येक शनिबार एटीआर- ७२ जहाजमार्फत दुईवटा पर्वतीय उडान हुने बताए ।
‘हाम्रो सगरमाथाकै उचाइ बराबरको भाडादरमा दुई वटा टिकट पाइने आकर्षक प्याकेज, संक्रमणरहित उडानका लागि हामीले अपनाएका विधि र प्रक्रियाप्रति यात्रुको विश्वास बढेकाले हामीलाई अझ उत्साहित बनाएको छ,’ उनले भने । बिहान ७ः२० मा पहिलो उडान भरेको यतीले आज ९२ जना यात्रुलाई पर्वतीय उडानमा लगेको थियो । नेपाली यात्रु तथा आवासीय विदेशी नागरिक र भारतीय नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतीले दुई टिकटका लागि क्रमशः रु आठ हजार ८४८र र १३ हजार २७५ भाडादर तोकेको छ ।
पर्वतीय उडान काठमाडौँबाट आवत-जावत गरी एक घण्टाको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजंघा हिमालनजिक पुगेर पुनःकाठमाडौँमा अवतरण हुन्छ । अग्ला हिमालसँगै महाभारत पर्वत श्रृंखलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायित हुन्छन् । आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । (रासस)
प्रकाशित समय १४:०९ बजे

















