गृहपृष्ठ नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो : अध्यक्ष दाहाल
नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कमानसिंह लामाको आज बिहीबार बिहान ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको संक्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेता लामाको निधन भएको हो ।
२००८ साल फागुन ९ गते पिता चन्द्रसिं र आमा मिश्रीमायाका कोखबाट जन्मिएका लामा २०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए । लामा २०३५ सालमा गठित अखिल नेपाल युवा संघका केन्द्रीय संस्थापक सदस्य भएका थिए । २०६३ सालमा पुनःस्थापित व्यवस्थापिका संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए । दिवंगत लामाका श्रीमती, एक छोरा र चार छोरी छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको बताएका छन् । आज दिएको शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको स्मरण गरेका छन् ।
अध्यक्ष दाहालले भनेका छन्, ‘जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उनको अभावको महसुस गरेको छु ।’ अध्यक्ष दाहालले दिवंगत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गरेका छन् ।
प्रकाशित समय १३:४६ बजे
















