गृहपृष्ठ देशका आधाभन्दा बढी धनाढ्यहरू बागमती प्रदेशमा
देशका आधाभन्दा बढी धनाढ्यहरू बागमती प्रदेशमा
कर्णालीमा गरिब बढी
देशका कुल धनाढ्यहरूमध्ये ५२.५ प्रतिशत बागमती प्रदेशमै बसोबास गर्ने गरेको एउटा अध्ययनले देखाएको छ । बागमती प्रदेशका कुल धनाढ्यमध्ये झन्डै ८० प्रतिशत काठमाडौं उपत्यकाको सहरी क्षेत्रमा बसोबास गर्छन् ।
केन्द्रीय तथ्यांक विभागले भर्खैरै सावर्जनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६’ बागमती सबैभन्दा धेरै धनाढ्य बसोबास गर्ने प्रदेशका रूपमा देखिँदा कर्णाली गरिबको घरका रूपमा देखिएको छ । देशभरिका कुल अति गरिबहरूमध्ये कर्णालीमा ८१ प्रतिशत गरिब बस्छन् ।
काठमाडौं उपत्यका देशकै राजधानीमात्र नभएर आर्थिक गतिविधिको पनि केन्द्र भएकाले यहाँ धनाढ्यहरूको संख्या बढी भएको हो । उपत्यकाबाहिरका हेटौँडा, नारायणगढसहितका अन्य सहरी क्षेत्रमा बागमतीका कुल धनाढ्यमध्ये ३५.४ प्रतिशत धनाढ्यहरू बस्छन् ।
देशभरिका सहरी क्षेत्रमा २९.८ प्रतिशत धनाढ्यहरूको बसोबास हुँदा ३७.७ प्रतिशत गरिबहरू ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरेको यो प्रतिवेदनले देखाएको छ । मध्यम वर्गीय नेपालीहरूको पनि बसोबास पनि सहरी क्षेत्रमै बढी (२३.४ प्रतिशत) छ ।
प्रतिवेदनअनुसार बागमतीपछि गण्डकीमा धनाढ्यहरूको बसोबास केही बढी (१७.७) प्रतिशत छ भने त्यसपछि लुम्बिनीमा १३.६ प्रतिशत धनाढ्यहरूको बसोबास छ ।
प्रदेश १ र २ मा बराबरी नै अर्थात ९.६ प्रतिशत धनाढ्यहरूको बसोबास देखिए पनि प्रदेश २ को सहरी क्षेत्रमा १२.४ प्रतिशतको बसोबास हुँदा त्यही अनुपात प्रदेश १ मा १४.२ प्रतिशत छ ।
कर्णालीमा गरिब बढी
प्रदेशगत रूपमा हेर्दा कर्णालीमा कुल गरिबको ८१ प्रतिशत बसोबास गर्ने गरेको यो सर्वेक्षणको नतिजाबाट देखिएको छ भने सुदूरपश्चिममा ४४.३ प्रतिशत, प्रदेश १ मा २५.८ प्रतिशत, लुम्बिनीमा १९.५ प्रतिशत, गण्डकीमा ११.२ प्रतिशत र प्रदेश २ मा ४.८ प्रतिशत गरिबको बसोबास देखिएको छ ।
परिवारका समृद्धिका स्तर नेपाल जीवनस्तर मापन सर्वेबाट मापन गरिने भए पनि यो बहुसूचक सर्वेले सम्पत्ति वितरणको आधारभूत जानकारी उपलब्ध गराउने तथ्यांक विभागका अधिकारीहरू बताउँछन् ।
सर्वेक्षणमा सहभागीमध्ये ५५.८ प्रतिशत परिवारसँग टेलिभिजन, २३.४ प्रतिशत परिवारसँग रेडियो, ९६.२ प्रतिशत परिवारसँग टेलिफोन, १५.४ प्रतिशतसँग कम्प्युटर छ भने ५१.१ परिवारमा इन्टरनेटको पहुँच पुगेको छ ।
नेपालमा ९६.२ प्रतिशत घरपरिवारमा टेलिफोन (तारसहित टेलिफोन वा मोबाइल फोन) सुविधाको पहुँच हुँदा सबैभन्दा धेरै बागमती प्रदेशमा ९८ प्रतिशत को फोनमा पहुँच हुँदा कर्णाली प्रदेश ९३.६ प्रतिशतमा फोन पहुँच रहेको सर्वेले देखाएको छ ।
यसैगरी, १५-४९ वर्ष उमेर समूहका महिलामध्ये ७९.३ प्रतिशत महिलासँग आफ्नै माोबाइल फोन रहेको र ९२.४ प्रतिशत महिलाहरूले गत तीन महिनामा मोबाइल प्रयोग गरेको सर्वेक्षणले देखाएको छ ।
यस्तै, १५-४९ वर्ष उमेर समूहका पुरुषहरूमध्ये ९१.४ प्रतिशत पुरुषसँग आफ्नै माोबाइल फोन रहेको र गत तीन महिनामा ९६.८ प्रतिशत पुरुषहरूले मोबाइल प्रयोग गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
सर्वेक्षणअनुसार अहिले देशका ८९.९ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ भने प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश (९८.९ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेश (४४.९ प्रतिशत) मा विद्युतको पहुँच पुगेको छ ।
सर्वेक्षणमा सहभागीमध्ये करिब ४८ प्रतिशत महिला र ५४.५ प्रतिशतले पुरुषले विगत एक वर्षमा आफ्नो जीवनस्तरमा सुधार आएको अनुभव गरेका छन्, यसरी जीवनस्तरमा सुधार आएको अनुभव व्यक्त गर्नेहरूमा गण्डकी प्रदेशका बढी (करिब ५८ प्रतिशत) छन् ।
केन्द्रीय तथ्यांक विभागद्वारा गरिएको यो नेपाल बहुसूचक सर्वेक्षण आर्थिक वर्ष २०७५/७६ मा नेपालभरमा १२ हजार ८०० परिवारहरूबाट पारिवारिक विवरण संकलन सम्पन्न गरिएको विभागले जनाएको छ ।
प्रकाशित समय १६:३४ बजे

















