गृहपृष्ठ सिंगापुर फिन्टेक महोत्सवमा गभर्नरले भने- डिजिटल अर्थतन्त्र विकासमा राष्ट्र बैंक प्रतिबद्ध छ

सिंगापुर फिन्टेक महोत्सवमा गभर्नरले भने- डिजिटल अर्थतन्त्र विकासमा राष्ट्र बैंक प्रतिबद्ध छ

Governer_NewsKarobar

गभर्नर महाप्रसाद अधिकारीले डिजिटल अर्थतन्त्र विकासमा राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष र सिंगापुर मनिटरी अथोरिटीद्वारा मंसिर २२ गतेदेखि आयोजित ‘सिंगापुर फिन्टेक महोत्सव-२०२०’ लाई भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवर्धनका लागि नेपाल राष्ट्र बैंक प्रतिबद्ध छ ।’

‘कृषि र खाद्य प्रणालीमा डिजिटल बैंकिङले पु-याउन सक्ने सहयोग’ विषयमा मन्तव्य राख्दै गभर्नर अधिकारीले वित्तीय क्षेत्रको नेतृत्वदायी निकाय हुनुका नाताले नेपालमा डिजिटल अर्थतन्त्रको विकासका लागि राष्ट्र बैंकको अत्यन्तै ठूलो भूमिका रहेको तथ्यलाई महसुस गरेरे सोहीअनुसार काम अघि बढाएको बताएका छन् । ‘त्यसैले नेपालमा ‘डिजिटल पर्यावरण’को विकासका लागि हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘सरकारले डिजिटल अर्थतन्त्रको प्रवर्धनका निम्ति ‘डिजिटल नेपाल प्रारूप’को महत्वकांक्षी योजना अगाडि सारेको छ, मुलुकको अर्थतन्त्र, शासकीय व्यवस्था र सामाजिक क्रियाकलापको रूपान्तरणमा यो अभियानले सार्थक भूमिका खेल्ने विश्वास छ ।’ यो प्रारूपलाई नेपालको ‘डिजिटल आधारशीला’को रूपमा लिइएको उनले जानकारी गराए ।

यसको कार्यान्वयनबाट नेपालको कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधार विकाससँगै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासले एउटा फड्को मार्ने उनको विश्वास छ । गभर्नर अधिकारीले नेपालमा विद्युतीय बैंकिङ र भुक्तानी प्रणालीको विकासलाई सरकार र राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी दिए । यसैको परिणाम स्वरूप भुक्तानी प्रणालीको विकास तथा सञ्चालन, इजाजत प्रक्रिया, सम्बद्ध संस्थाको सुपरिवेक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ छ । डिजिटल बैंकिङको विस्तारसँगै यसको नियमन र सुपरिवेक्षणको क्षेत्रमा चुनौती थपिएको उल्लेख गर्दै उनले त्यसप्रति नियामक निकायहरू सजक रहनुपर्ने धारणा राखे ।

विश्वव्यापी रूपमा देखापरेको कोभिड–१९ महामारीले डिजिटल बैंकिङको सान्दर्भिकतालाई थप सबल बनाएको उल्लेख गर्दै गभर्नर अधिकारीले कृषि तथा खाद्य प्रणालीलाई समेत डिजिटल प्रविधिसँग आबद्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए । ‘डिजिटल प्रविधिको प्रयोगबाट कृषिजन्य उत्पादन, उत्पादकत्व अभिवृद्धि, लगानी, मूल्य निर्धारण, बजार व्यवस्थापन र भुक्तानी कार्यलाई सहजीकरण गर्न सकिन्छ । यसबाट अन्ततः दिगो कृषि र खाद्य प्रणालीमा दूरगामी प्रभाव पार्नेछ,’ उनले भने । हाल सहरी क्षेत्रमा केन्द्रित रहेको डिजिटल प्रणालीलाई ग्रामीण क्षेत्रसम्म विस्तार गरी स्थानीय कृषक ‘ई–कमर्स’सँग जोड्नुपर्ने उनको सुझाव थियो ।

साथै, डिजिटल प्रविधिको प्रयोगबाटै ग्रामीण कृषकलाई वित्तीय स्रोतको व्यवस्था, बिमा, कृषिसम्बन्धी सूचना÷जानकारी विद्युतीय भुक्तानी र लगानीका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता गभर्नर अधिकारीले औंल्याए । नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २८ प्रतिशत हिस्सा र झन्डै दुई तिहाइ जनसंख्याको जीविकोपार्जनको स्रोत कृषि नै रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले कृषकलाई थप व्यावसायिक बनाउन यसै वर्ष मौद्रिक नीतिमार्फत कृषि ऋणपत्र र किसान क्रेडिट कार्डसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिए ।

आयोजकले अनलाइनमार्फत चौबीसै घण्टा उक्त महोत्सव सञ्चालन गर्दै आएका छन् । मंसिर २६ गतेसम्म चल्ने महोत्सवमा फरक–फरक विषयका सम्मेलन सञ्चालन गरिएका छन् । यसै क्रममा बिहीबारसम्म क्रमशः आर्थिक, पूर्वाधार, प्रभाव र लगानीसम्बन्धी सम्मेलन आयोजना भएका छन् भने महोत्सवको अन्तिम दिन शुक्रबार ‘ट्यालेन्ट’ विषयक सम्मेलन आयोजना हुनेछ ।

महोत्सवमा  ६०० भन्दा बढी सत्र (सेसन)हरू सञ्चालन हुने, एक हजार चार सय वक्ताहरूले आफ्नो धारणा प्रस्तुत गर्ने, ६० हजारभन्दा बढीको सहभागिता रहने र १३० भन्दा बढी मुलुकका सात हजारभन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीले प्रतिनिधित्व गर्ने अनुमान आयोजकका ेछ । ‘सिंगापुर फिन्टेक महोत्सव’लाई डिजिटल बैंकिङ प्रविधिको प्रवर्धन र विकासको दृष्टिले विश्वकै सबैभन्दा ठूलो महोत्सवका रूपमा लिने गरिएको छ । डिजिटल बैंकिङको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा भएका नवप्रवर्तन, नवीनतम अभ्यास र नीतिगत व्यवस्थाबारे सरोकारवाला निकायका प्रतिनिधिबीच ज्ञान र सीप आदानप्रदानका लागि यस महोत्सवलाई साझा मञ्च मानिन्छ ।

प्रकाशित समय २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु