गृहपृष्ठ अर्थमन्त्री र नेपालका लागि कोरियाका राजदूत योङसिकबीच भेटवार्ता

अर्थमन्त्री र नेपालका लागि कोरियाका राजदूत योङसिकबीच भेटवार्ता

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे । नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमा समेत आपसी सहकार्य बढ्दै गएको भन्दै अर्थमन्त्रीले ‘ईपीएस’ (इम्लाएमेन्ट प्रमिट सिस्टम) मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको  बताए ।

उनले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियाली जनताको उपस्थिति बढाउन थप सहयोगका लागि आग्रह गरे । कोरिया सरकारको सहयोगमा नेपालमा सञ्चालित आयोजनाका लागि मन्त्रालयको सहयोग साथ र समर्थन रहने प्रतिबद्धता उनले जनाए ।

राजदूत योङसिकले कोरियाली सरकारले नेपालको विभिन्न क्षेत्रमा गरेको सहयोगका बारेमा जानकारी गराउँदै प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग बिस्तार गर्ने जानकारी गराए । उनले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने बताए । साथै, ईपीएसमार्फत नेपाली रोजगारीका लागि कोरियामा कार्यरत जनशक्ति तथा त्यहाँबाट फर्केर आएका जनशक्तिलाई उद्यमशीलता प्रदान गरी व्यावसायिक बनाउने कार्यक्रम रहेको पनि उनले जनाए ।

प्रकाशित समय २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु