गृहपृष्ठ ‘शिखर अटो प्लस इन्स्योरेन्स’ पोलिसी सार्वजनिक, दाबी भुक्तानी पुरै

‘शिखर अटो प्लस इन्स्योरेन्स’ पोलिसी सार्वजनिक, दाबी भुक्तानी पुरै

निर्जीवन बिमा कम्पनीमध्येकै अग्रणी शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस इन्स्योरेन्स’ पोलिसी सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रम गरी सोमबार कम्पनीले आकर्षक पोलिसी सार्वजनिक गरेको हो ।

‘शिखर अटो प्लस इन्स्योरेन्स’ पोलिसी अन्तर्गत बिमा गर्नेहरूको दाबी भुक्तानी गर्दा ह्रास कट्टी नहुने, पूर्ण क्षति भएमा नयाँ मोटरले प्रतिस्थापन गर्न मिल्ने र दुर्घटनापछि मोटर मर्मत गर्न लाग्ने समयावधिमा बिमितलाई यातायात खर्च दिने सुविधा रहेको प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले जानकारी दिए । ‘एउटा कारको बम्पर फेर्नुपर्दा २५–३० हजार रुपैयाँ लाग्छ । ह्रास कट्टीपछि बिमितले १२–१५ हजार रुपैयाँ मात्र पाउने गरेका थिए । शिखर अटो प्लस इन्स्योरेन्स गरेको अवस्थामा ह्रास कट्टी हुँदैन, पुरै रकम भुक्तानी पाउनेछन्,’ उनले भने ।

नयाँ पोलिसीमा पुरानो गाडी पूरै क्षति हुँदा नयाँ गाडी लिन सकिने सुविधा पनि छ । त्यस्तै मोटर ग्यारेजमा राखेपछि बिमितलाई यातायातको असुविधा हुन नदिन मोटरसाइकल धनीलाई दैनिक ५ सयदेखि २ हजार रुपैयाँसम्म र चार पांग्रे मोटरको लागि दैनिक १५ सयदेखि ४५ सय रुपैयाँसम्म यातायात खर्च दिइने कम्पनीले जनाएको छ । यस्तो रकम बिमांकको आधारमा तय हुने पाण्डेले बताए । कम्पनीले याताया सुविधा मोटर आंशिक क्षति भएको अवस्थामा १४ दिन र पूर्ण क्षति भएको अवस्थामा ३० दिनसम्म दिनेछ ।

निर्जीवन बिमा बजारको ५० प्रतिशत हिस्सा मोटर बिमाले ओगटेको छ । नयाँ पोलिसीले मोटर बिमा क्षेत्रमा बिमाबापतको क्षतिपूर्ति कम पाउने गरेको ग्राहकको गुनासो सम्बोधन गर्न मद्दत पुग्ने प्रमुख कार्यकारी अधिकृत पाण्डेको विश्वास छ ।

कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नयाँ बिमा पोलिसी सिर्जनात्मक भएको बताए । त्यस्तै वरिष्ठ हास्य कलाकार एवं शिखर इन्स्योरेन्सका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्यले शिखरको अटो प्लस योजना उपयोगी भएको जनाए ।

प्रकाशित समय १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु