गृहपृष्ठ भूमिहीनलाई असारभित्रै जग्गा वितरण गरिने, सुदूरपश्चिमका १७ स्थानीय तहसँग सम्झौता

भूमिहीनलाई असारभित्रै जग्गा वितरण गरिने, सुदूरपश्चिमका १७ स्थानीय तहसँग सम्झौता

भूमिहीनलाई जमिन उपलब्ध गराउने गराउने कार्यलाई भूमिसम्बन्धी समस्या समाधान आयोगले तीव्रता दिएको छ । वर्षौंदेखि जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने भनिए पनि विभिन्न समस्याका कारण काम अघि बढ्न सकेको थिएन ।

अहिले भने भूमिसम्बन्धी समस्या समाधान गरी असारभित्रै जग्गाधनी प्रमाणपत्र वितरण गरिसक्ने भन्दै आयोगले सुदूरपश्चिमका १७ स्थानीय तहसँग सम्झौता गरेको छ । सम्झौता भएसँगै अब भूमिहीनहरु जमिनका मालिक बन्ने भएका छन् ।

भूमिसम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ स्थानीय तहमा काम थालेको छ । आयोगका अध्यक्ष देवी ज्ञवाली र सुदूरपश्चिमका १७ स्थानीय तहबीच भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्नका लागि बिहीबार धनगढीमा सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिका गरी नौ स्थानीय तह छनोटमा परेका छन् । त्यस्तै कञ्चनपुरका कृष्णपपुर नगरपालिका, बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका गरी सात स्थानीय तहलाई छनोट गरिएको आयोगले जनाएको छ

बैतडीको पञ्चेश्वर गाउँपालिकालाई पनि प्रारम्भिक चरणमा समावेश गरिएको आयोगका अध्यक्ष ज्ञावालीले जानकारी दिए । आयोगले सुदूरपश्चिमका करिब १ लाख भूमिहीनलाई लालपुर्जा वितरण गर्ने अनुुमान बताएको छ । अध्यक्ष ज्ञवालीले असार मसान्तभित्रै काम सम्पन्न गर्ने गरी स्थानीय तहमा कर्मचारी खटाउन लागिएको जानकारी दिए । भूमि नभएकाहरुलाई विगतको जस्तो सपनामा मात्रै सीमित नराखी बाँडेका सपना पूरा गर्ने उनले बताए ।

वर्षौंदेखि भूमिहीनका समस्या समाधान गर्ने बाचा गरिए पनि हालसम्म पूरा हुन सकेको थिएन । हाल सरकारले कानुनी अधिकारसहितको आयोग गठन गरेपछि भूमिहीनका समस्या समाधान गर्न बाटो खुलेको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । कुनै झमेला नगरी चाँडो भूमिहीनलाई जमिनको मालिक बनाउन उनले आयोगलाई आग्रह गरे ।

भूमिहीनका समस्या समाधान हुनेगरी स्थानीय तहहरुसँग सम्झौतासमेत भइसकेकाले अब चाँडै समस्या समाधान हुने अपेक्षा जनप्रतिनिधिको छ । चुनावमा बाँडेका बाचा पूरा हुनेमा उनीहरु विश्वस्त छन् । यसका लागि स्थानीय तहले गर्नुपर्ने गृहकार्य सुरु गरिसकेको उनीहरुले बताएका छन् ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन सम्झौता भएसँगै अब स्थानीय स्तरमा पनि काम अघि बढ्ने बताए । स्थानीय तह कसरी चाँडो गर्न सकिन्छ, त्यसमा केन्द्रित रहने उनको भनाइ छ ।

टीकापुर नगरपालिका प्रमुख तपेन्द्र रावलले आजको दिन स्थानीय सरकारहरुका लागि खुसीको दिन भएको बताए । ‘लामो समयदेखि बल्झिएको भूमि समस्या समाधानका लागि आज हस्ताक्षर गरेका छौँ, हामी एकदमै खुसी छौँ,’ उनले भने । स्थानीय सरकारहरुले भूमिको समस्या समाधान गर्न खोजे पनि कानुनी अड्चनका कारण काम अगाडि बढ्न सकेको थिएन । ‘अहिलेको भूमिसम्बन्धी समस्या समाधान आयोगले स्पष्ट नीति ल्याएको छ, त्यही भएर हामीलाई काम गर्न सहज हुन्छ,’ उनले भने ।

आफ्नो नगरमा ५० प्रतिशतभन्दा बढी घरपरिवार लालपुर्जाविहीन रहेको कञ्चनपुरको बेतकोट नगरपालिका प्रमुख अशोक चन्दले बताए । स्थानीय तहमा पनि समस्या समाधानका लागि स्थानीय तह प्रमुखको संयोजकत्वमा समिति हुने भएकाले कामले गति लिने उनको भनाइ छ ।

आयोगले सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट अगस्त अधिकारीलाई मनोनीतसमेत गरिसकेको छ । गोदावरी नगरपालिकाको अत्तरियामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाइ कार्यालय स्थापना पनि भइसकेको छ ।

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु