गृहपृष्ठ नेपाल बैँकको नेतृत्वमा लाप्चे खोला जलविद्युत आयोजनामा नौवटा बैँकको १९ अर्ब लगानी

नेपाल बैँकको नेतृत्वमा लाप्चे खोला जलविद्युत आयोजनामा नौवटा बैँकको १९ अर्ब लगानी

नेपाल बैँकको नेतृत्वमा नौवटा बैँकले लाप्चे खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । १६० मेगावाट क्षमताको लाप्चे खोलामा नेपाल बैँकसहित, नेपाल इन्भेस्टमेन्ट बैँक, राष्ट्रिय वाणिज्य बैँक, हिमालयन बैँक, लक्ष्मी बैँक, नेपाल एसबीआई बैँक, बैँक अफ काठमाडौँ, कृषि विकास बैँक र कर्मचारी सञ्चय कोषले १९ अर्ब ६५ करोडभन्दा बढी लगानी गर्ने भएका हुन् ।

आयोजनामा नेपाल बैँकले ५ अर्ब, इन्भेस्टमेन्ट बैँकले ३ अर्ब ५० करोड, कर्मचारी सञ्चय कोषले २ अर्ब, राष्ट्रिय वाणिज्य बैँकले २ अर्ब, हिमालयन बैँकले २ अर्ब, लक्ष्मी बैँकले १ अर्ब ८८ करोड २५ लाख, एसबीआई बैँकले १ अर्ब, बैँक अफ काठमाडौँले १ अर्ब र कृषि विकास बैँकले १ अर्ब लगानी गर्ने भएका हुन् ।

निजी क्षेत्रको लगानीबाट बन्न लागेको यो देशकै ठूलो आयोजना हो । लाप्चे खोलामा एमभी दुगड ग्रुपको मुख्य लगानी छ । नासा हाइड्रोपावरले प्रवर्धन गर्न लागेको उक्त जलविद्युत आयोजना दोलखाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा पर्छ ।

सम्झौता कार्यक्रममा नाशाका अध्यक्ष मोतिलाल दुगडले सरकारी बैँकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको र २०७९ साउनसम्ममा आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने जानकारी गराए ।

प्रकाशित समय १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु