गृहपृष्ठ व्यवसाय विस्तारमा आक्रामक बन्दै नबिल बैँक
व्यवसाय विस्तारमा आक्रामक बन्दै नबिल बैँक
वित्तीय सूचकका आधारमा नम्बर १ कम्पनीका रुपमा स्थापित नबिल बैँक अन्य बैँक तथा वित्तीय संस्थाले उछिन्ने स्थिति आएसँगै व्यवसाय विस्तारमा आक्रामक बन्न थालेको छ । व्यवसाय विस्तारका लागि बैँकले स्थानीय तहहरूसँगको सहकार्यलाई तीव्रता दिएको हो ।
बैँकिङ सेवालाई डिजिटाइज गर्दै अघि बढेको नबिल बैँकले हालै मात्र सुदूरपश्चिमका दुईवटा स्थानीय तहसँग सम्झौता गरेको छ । बैँकले डोटीको सायल गाउँपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । समझदारी पत्रमा सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेल र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द तथा बैँकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दले हस्ताक्षर गरेका छन् ।
साना तथा मझौला व्यवसाय एवं कृषिसम्बन्धी कार्यक्रममा सहयोग पु-याउने गरी बैँकले स्थानीय तहहरूसँग सम्झौता गरेको जनाएको छ । कार्यक्रममा नबिल बैँकका सहायक महाप्रबन्धक गणेशप्रसाद अवस्थीले राष्ट्र बैँकद्वारा जारी निर्देशिकाअनुरुप व्यावसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशीलतामा आधारित सहुलियतपूर्ण कर्जाको माध्यमबाट स्थानीयको आर्थिक विकासमा बैँकले योगदान पु-याउने बताए ।
नबिल बैँकले हाल ११९ वटा शाखा, १८५ वटा एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टबाट सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय १२:१८ बजे

















