गृहपृष्ठ एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता
एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता
कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने÷ गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा आज एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् ।
मिति २०७७ श्रावण ३२ गते दुई संस्थाबीच गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भई मिति २०७७ कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सिद्धान्तिक सहमति प्राप्त भई आज मिति २०७७ पौष १० गते गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तिम समझौता भएको हो । उक्त सम्झौतामा एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् ।
एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेशलगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा सञ्चालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपालभरि ८५ शाखा सञ्चालनमा रहेका छन् । मर्जरपश्चात् कुल शाखा संख्या १९३ शाखा हुनेछ ।
गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जरपश्चात् एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पुँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ । त्यस्तै उत्तरदायी लघु वित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोही अनुरुप कार्य गर्ने प्रमुख सूचना अधिकृत प्रह्लादचन्द्र निरौलाले जानकारी दिए ।
प्रकाशित समय १०:५८ बजे

















