गृहपृष्ठ संसद विघटनविरुद्ध देशभर आन्दोलन, चौतर्फी दबाबमा ओली

संसद विघटनविरुद्ध देशभर आन्दोलन, चौतर्फी दबाबमा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध देशभर आन्दोलन सुरु भएको छ । नेपाली कांग्रेसले सोमबार देशका १६५ निर्वाचन क्षेत्रमा क्षेत्रमा विरोधका कार्यक्रम गरेकोमा मंगलबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‑ माधवकुमार नेपाल समूहले आन्दोलन चर्काएको हो ।

देशव्यापी विरोधका कार्यक्रम गरेर नेकपाले ओलीविरुद्धको जनमत बलियो रहेको सन्देशसमेत दिएको छ । नेकपाका हजारौँ कार्यकर्ता मंगलबार ओलीविरुद्ध नारा लगाउँदै काठमाडौँको भृकुटीमण्डपमा भेला भए । राजधानीका १३ स्थानबाट निस्किएको जुलुस ‘ओली सरकार मुर्दावाद’, ‘संवैधानिक कु खारेज गर’, ‘संविधान मिच्न पाइँदैन’लगायतका नारा लगाउँदै भृकुटीमण्डप पुगेको थियो । शीर्ष नेताहरूले नै नेतृत्व गरेको आन्दोलनमा नेता‑कार्यकर्ताले उत्साहजनक सहभागिता जनाएपछि पर्यटन बोर्डदेखि पद्मोदय मोडसम्म भरिभराउ भयो ।

नेता‑कार्यकर्ताको उत्साहजनक सहभागिताबाट थप उत्साहित बनेका शीर्ष नेताहरूले ओलीको कदम नसच्चिएसम्म आन्दोलन जारी रहने बताएका छन् । नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली तानाशाही भएको आरोप लगाएका छन् । भृकुटीमण्डपमा आयोजित विरोध सभामा उनले भने, ‘ओलीले संविधानविपरीत गएर संसद विघटन गराएका छन्, यसलाई देशभरिका सबै तप्काले निरंकुश र अलोकतान्त्रिक कदम भनिसकेकाले ओली सच्चिनुको विकल्पै छैन ।’ उनले सर्वोच्च अदालतले पनि जनभावनाअनुसार नै निर्णय गर्ने विश्वास व्यक्त गरे ।

नेकपा अध्यक्ष दाहालले ओलीबाट संविधान र लोकतन्त्रमाथि निर्मम प्रहार भएकाले सच्याउने प्रयास नगरे आन्दोलनको आँधिबेहेरी आउने चेतावनी दिए । ‘यो त आन्दोलनको सुरुवातमात्रै हो,’ उनले भने, ‘तत्काल नसच्चिने हो भने अढाइ सय वर्ष पुरानो राजतन्त्र बढारेर फाल्न सक्ने जनताले यस्ता निरंकुश र प्रतिगमनका पुजारीलाई सजिलै बढारेर फाल्नेछन् ।’

प्रचण्डले आफूहरू अन्तिम समयसम्म लड्ने भन्दै खुला चुनौती दिए । ‘हामी अन्तिम समयसम्म लड्छौँ, तपाईँहरूले जे जे गर्नुछ, गरे हुन्छ,’ उनले भने, ‘यो आन्दोलन प्रतिगमन नसचिएसम्म जारी रहन्छ ।’ देश कोरोनाको संकटमा रहेका बेला ओलीको ध्यान कोरोना नियन्त्रण, राहतमा भन्दा पार्टी फुटाउने र सर्वसत्तावाद लागू गर्नेमा केन्द्रित रहेको एक वर्षयताका क्रियाकलापले पुष्टि गरेको पूर्वप्रधानमन्त्री दाहालको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले चुनाव नगराउने पनि उनले ठोकुवा गरे । ‘वैशाखपछि यसै पनि ओलीको पत्तासाफ हुन्छ,’ उनले भने, ‘यो चुनाव गर्नका लागि घोषणा भएकै होइन, स्वयं केपी ओलीलाई यसमा विश्वास छैन, उनी कसैको गोटी भएका हुन् ।’

विरोध सभामा नेकपाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री केपी ओलीले गम्भीर गल्ती गरेको आरोप लगाए । ‘आफ्नै कारण ओली स्वतः कामचलाउ प्रधानमन्त्री भइसकेका छन्,’ उनले प्रश्न गरे, ‘प्रतिनिधि सभा विघटन गर्ने व्यक्तिलाई अझै पनि प्रधानमन्त्री भनिरहनुपरेको छ, यो संविधानको प्रावधानसँग मेल खान्छ ?’

ओलीको संसद विघटनको कदम गैरसंवैधानिक भएको भन्दै अध्यक्ष नेपालले प्रतिनिधि सभा पुनःस्थापित हुने विश्वास व्यक्त गरे । ओलीको कदमले लोकतन्त्रका हालसम्मका योगदान समाप्त हुने हुन् कि भन्दै उनले चिन्ता व्यक्त गरे । केही साथीहरूमा ओली अझै सुध्रिन्छन् कि भन्ने आशा रहेको भन्दै उनले बालुवाटारको बालुवा पेलेर नतिजा ननिस्कने तर्क गरे ।

केही साथीहरूमा ओली अझै सुध्रिन्छन् कि भन्ने आशा रहेको भन्दै उनले बालुवाटारको बालुवा पेलेर नतिजा ननिस्कने तर्क गरे ।

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली जनताले विश्वास गरेर नेकपालाई दिएको जनमतमाथि केपी ओलीबाट धोका भएको आरोप लगाए । ओलीले बालुवाटारमा बसेर गुट चलाएको खनालको आरोप छ । ‘जनताले केपी ओलीलाई नभएर नेकपालाई भोट दिएका हुन्,’ उनले भने, ‘तर ओलीले पार्टीलाई सत्ता चढ्ने भर्‍याङमात्र बनाए, बालुवाटरमा पुगेको भोलिपल्टबाट पार्टी बिर्सेए, पार्टीका नीतिहरू बिर्सिए र पार्टीसँग कुनै समन्वय नगरी नीति तथा कार्यक्रम र बजेट ल्याएर अराजकता प्रस्तुत गरे ।’

वरिष्ठ नेता खनालले गफ गरेर, उखान र तुक्का हालेर देश नचल्ने बताए । ‘देश चलाउनका लागि भिजन चाहिन्छ, सही नीति र योजना चाहिन्छ,’ उनले भने, ‘तीन वर्षको अवधिमा ओली नेतृत्वको सरकारले मरिचमान सिंह र नगेन्द्रप्रसाद रिजालले गरेजति पनि गर्न सकेनन्, यसैबाट ओलीको नियत प्रस्ट हुन्छ ।’ नेकपाका दोस्रो तहका नेताहरूले जिल्ला जिल्लामा आन्दोलनको नेतृत्व गरेका थिए ।

दबाबमा ओली

देशभर आन्दोलन चर्किएपछि संसद विघटन गरेको राजनीतिक जोखिम मोलेका ओली दबाबमा परेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस सोमबारबाटै आन्दोलनमा होमिएको छ । कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम गरेर आन्दोलनको शंखघोष गरेको हो । जनता समाजवादी पार्टी (जसपा)ले पनि साताव्यापी आन्दोलनको कार्यक्रम गरिरहेको छ । विवेकशील साझा पार्टी पनि संसद विघटनविरुद्ध पुस ५ गतेदेखि नै आन्दोलनमा छ ।

नागरिक समाजका अगुवा पुस १० गतेदेखि सडकमा छन् । उनीहरूले संसद विघटन गर्ने ओलीको कदमको प्रतिकार गर्न अपिल नै गरेका छन् । श्याम श्रेष्ठ, हरि रोका, दीपेन्द्रबहादुर क्षेत्री, नारायण ढकाल, पिताम्बर शर्मा, मल्ल के सुन्दर, महेश मास्के, अरुणा उप्रेती, कृष्ण पौडेल, मुक्ता श्रेष्ठ, शरद वन्त र सुदीप श्रेष्ठहरुले संविधान र संसदको सर्वोच्चताको चीरहरणको कुत्सित प्रयत्नमा संलग्न हरेक व्यक्ति तथा समूहलाई कानुनी र राजनीतिक तवरले दण्डित गर्न आवश्यक भएको बताएका छन् ।

संसद विघटनको गलत कदम अघि सारेर आफ्नै दल, प्रमुख प्रतिपक्षी एवं अन्य दल, नागरिक समाज, बुद्धिजीवी लगायतबाट दुत्कारिएका ओली अफ्ठ्यारोमा पर्दै गएको टिप्पणी हुन थालेको छ । संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेका ओलीको पक्षमा केही अवसरवादी नेतामात्र देखिएका छन् । टोपबहादुर रायमाझीदेखि मणि थापासम्म यसका उदाहरण हुन् ।

चौतर्फी दबाब बढेपछि संविधानको रक्षार्थ सर्वोच्च अदालतले पनि संसद विघटनको असंवैधानिक कदममा साथ नदिने विश्वास नेताहरूमा बढेको छ । उनीहरूले एकातिर संसद विघटन नै स्वीकारेका छैनन् भने अर्कोतिर सर्वोच्च अदालतले प्रधानमन्त्रीको असंवैधानिक कदम खारेज गरिदिने बताइरहेका छन् ।

ओलीले पुस ५ गते संसद विघटन गरेर पाँच वर्षका लागि पाएको जनादेशको अपहेलनामात्र गरेका छैनन्, नयाँ जनादेशका लागि भन्दै वैशाखमा गर्ने गरी निर्वाचनसमेत घोषणा गरेका छन् । तर, पाँच वर्षका लागि पाएको म्यान्डेट कसरी तीन वर्ष नपुग्दै बासी भयो भन्ने प्रश्नको उत्तर अझै दिन सकेका छैनन् ।

प्रकाशित समय १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु