गृहपृष्ठ राणा, पञ्चायत र कांग्रेसले नगरेको जनविरोधी काम केपी ओलीले गरे : भीम रावल
राणा, पञ्चायत र कांग्रेसले नगरेको जनविरोधी काम केपी ओलीले गरे : भीम रावल
‘केपी ओली’भन्ने निरकुंश मान्छे कहाँबाट आयो ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले नवनियुक्त मन्त्रीहरुलाई ‘गुलियो चाट्न गएको’ भन्दै कटाक्ष गरेका छन् । संसद विघटन गरेर वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली आफू स्वयं पदच्यूत भइसकेको रावलले बताए ।
संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहले आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले प्रतिनिधि सभा सदस्यसमेत नरहेका कतिपय व्यक्तिहरु गुलियो चाट्न लज्जापूर्वक मन्त्री भएको उल्लेख गरे । वर्तमान सरकारले कतिपय व्यक्तिलाई ‘चोरलाई साँचो दिए’जस्तो मन्त्री पद बाँडेको उनको भनाइ थियो ।
नेता रावलले वर्तमान सरकारले देशभक्तिको ठूला-ठूला कुरा गरे पनि व्यवहारमा भने कमजोर रहेको टिप्पणी गरे । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्शा पनि प्रधानमन्त्रीले बाध्य भएर प्रकाशित गरेको उनले बताए । ‘नक्शा किन चाहियो ? नक्शामा चुच्चे भूमि राख्नै पर्छ र ? भनेर उहाँले प्रश्न गर्नुहुन्थ्यो,’ रावलले भने, ‘हामीले सदन र देशभक्त जनताले सडकबाट दबाब दिएपछि मात्रै उहाँले बाध्य भएर नक्शा प्रकाशित गर्नु भएको हो ।’
‘केपी ओली’भन्ने निरकुंश मान्छे कहाँबाट आयो ?
रावलले प्रधानमन्त्री केपी ओलीको निरंकुशतन्त्र नचल्ने बताए । ‘०४६ सालको आन्दोलनमा पञ्चायत ढल्यो । ०६२/६३ सालको आन्दोलनले निरंकुश राजतन्त्र ढल्यो । ५ वर्षको लागि झापाबाट निर्वाचित केपी ओलीले मेरो निरंकुशतन्त्र चल्ला भनेर कसरी कल्पना गर्नुभयो ? कसैको स्वेच्छाचारिताका लागि जनताले रगत बगाएका हैनन् । दुई वर्षमा संविधानमाथि बुट बजारेर निर्वाचन गर्न जनमत दिएका होइनन्,’ उनले भने ।

ओलीले जनमतको खिल्ली उडाएको आरोप रावलले लगाए । उनले भने, ‘सरकार नवउदारवादी बाटोमा गइरहेको छ । सरकारले कृषिमा विदेशीलाई निम्तो गर्ने रे । अब तपाईंहरुले गरेको माछापालन बन्द हुनेछ, गाईपालन बन्द हुनेछ, तरकारी खेती बन्द हुनेछ ।’ देशभरिका जनताले मत दिएर केपी ओली प्रधानमन्त्री नभएको दाबी गर्दै उनले भने, ‘राणाले, पञ्चायतले, कांग्रेसले नगरेको काम केपीले गरे । केपी ओली भन्ने निरंकुश र जनविरोधी मान्छे कताबाट आयो हँ ?’
ओलीले पटक-पटक देशको स्वाभिमान गुमाए
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक-पटक देशको स्वाभिमान गुमाउने काम गरेको आरोप लगाए । प्रधानमन्त्री ओलीविरुद्ध निकै आक्रामक अभिव्यक्ति दिएका रावलले ओलीको राष्ट्रवाद खोक्रो रहेको जिकिर गरे । ‘मन्त्री मण्डलको विस्तार पनि गैरसंवैधानिक कार्य हो । सदन विघटन गरेर केको मन्त्री परिषद बिस्तार हुन्छ,’ रावलले भने, ‘ओलीको काम जनविरोधी र संविधान विरोधी कार्य गर्ने मात्रै हो, अरु केही होइन ।’ ओली सरकारमा गएका केही मन्त्रीहरुले सरकारलाई काम गर्न दिएन भनेर गुनासो गर्नुमा कुनै सत्यता नभएको उनको भनाइ छ ।
नेता रावलले एमसीसी पास गराउनु राष्ट्रघात भए पनि यसैलाई पास गराउन सदन विघटन गरिएको बताए । ‘नेकपा पार्टीको कुनै विधि-विधान ओलीले कहिल्यै मानेनन्,’ नेता रावलले भने, ‘यस्तो स्वेच्छाचारी अध्यक्षलाई कसरी मान्ने ? दलीय व्यवस्थामा पार्टीको घोषणा पत्रअनुसार सबै चल्नु पर्दछ ।’ ओलीले आफूले गरेका सम्झौता पार्टीमा कहिल्यै कार्यान्वयन नगरेको रावलको दाबी छ ।
प्रकाशित समय १८:०८ बजे
















