गृहपृष्ठ पाइपलाइनबाट निगमको डेढ अर्ब बचत, २० प्रतिशत लाभांश वितरण गर्ने तयारी

पाइपलाइनबाट निगमको डेढ अर्ब बचत, २० प्रतिशत लाभांश वितरण गर्ने तयारी

नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब रूपैयाँ बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानी बापतको एक अर्ब ४७ करोड रूपैयाँ बचत भएको हो ।

उक्त प्रतिवेदनअनुसार प्रतिमहिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्यांकरमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत बर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी सुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो ।

इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको सुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ ।

पाँच वर्षदेखि नाफामा

लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२/७३ देखि (पाँच वर्षयता) नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२/७३ मा १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा नौ अर्ब ४५ करोड, २०७४/७५ मा तीन अर्ब ५८ करोड, २०७५/७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

निगमले आर्थिक वर्ष २०७५/७६ मा २९ करोड रहेको चुक्ता पूँजीलाई दश अर्ब पूँजी वृद्धि गरेर एघार अर्ब पुर्‍याएको थियो । आर्थिक वर्ष २०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नाफा रकमबाट सेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाइएको छ ।

प्रकाशित समय १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु