गृहपृष्ठ बैँकको पहुँच नभएका किसानलाई सहकारीमार्फत ११ प्रतिशत ब्याज अनुदान
बैँकको पहुँच नभएका किसानलाई सहकारीमार्फत ११ प्रतिशत ब्याज अनुदान
कर्णाली प्रदेश सरकारले बैँकको पहुँच नभएका किसानलाई सहकारीमार्फत ब्याज अनुदान दिने भएको छ । प्रदेश सरकारले सहकारीमार्फत ११ प्रतिशत ब्याज अनुदान सरकारले दिने भएको हो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आइतबार एक कार्यक्रम गरी साना किसान लक्षित ब्याज अनुदान कार्यक्रम ल्याएको जानकारी दिएको हो । प्रदेशमातहतका कम्तीमा पनि ५० लाख पुँजी भएका सहकारीलाई छनौट गरी ब्याज अनुदान दिइने मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बताए । उनका अनुसार किसानलाई कम्तीमा ५० हजारदेखि पाँच लाखसम्म ऋण उपलब्ध गराउने गरी कार्यविधि निर्माण भएको छ ।
सहकारीका सेयर सदस्यहरुकै बचत तथा सेयरको पुँजी ९५ प्रतिशत भएको र ५ प्रतिशतमात्रै बाहिरबाट ऋण ल्याई वितरण गरेका सहकारीलाई यो कार्यक्रममा जोड्ने प्रदेश सरकारको तयारी छ । ‘हामीले विशुद्ध साना किसानलाई यो कार्यक्रममा जोड्न खोजेका हौँ,’ सचिव मिश्रले भने, ‘आफ्नै पुँजी भएका प्रदेशमातहतका सहकारीलाई प्राथमिकतामा राखिनेछ ।’
कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । ‘आवश्यक परेको खण्डमा बजेटमा संशोधन हुन पनि सक्नेछ,’ उनले भने ।
भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा सहकारीको प्रवर्धनमा समेत यो कार्यक्रमले टेवा पुग्ने बताइन् । ‘अब सहकारीहरु मर्ज हुनुपर्छ,’ उनले भनिन्, ‘आफ्नै पुँजी बढाउनतिर पनि सहकारी लाग्नुपर्छ ।’
प्रदेशमातहतका ३१४ सहकारीमध्ये कार्यविधिमा तोकिएको नियमबमोजिमका सहकारीले ब्याज अनुदान पाउने उनले जानकारी दिइन् । ‘यो साना किसानलाई लक्षित गरी ल्याइएको कार्यक्रम हो, यसमा विचौलिया हाबी हुँदैन,’ उनले भनिन् ।
यसअघि कर्णाली सरकारले ठूला किसान र उद्यमीलाई लक्षित गरी ७ प्रतिशत ब्याज अनुदानको कार्यक्रम ल्याएको थियो, जसमा एक करोडसम्मको ब्याज अनुदान पाउने गरी बैँकहरुसँग सम्झौता भइरहेको छ ।
प्रकाशित समय ०८:०२ बजे

















