गृहपृष्ठ सुदूरपश्चिममा ओली समूह झन् निरीह, प्रदेश सभा विघटनको धम्की

सुदूरपश्चिममा ओली समूह झन् निरीह, प्रदेश सभा विघटनको धम्की

नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूह सुदूरपश्चिम प्रदेशमा झन् निरीह देखिएको छ । नेकपाका प्रभावशाली मानिने नेता एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकै क्षेत्रमा नेकपा सबैभन्दा कमजोर देखिएको हो ।

सुदूरपश्चिमको नेकपा संसदीय दलले प्रधानमन्त्रीले गरेको संसद विघटनको निर्णयप्रति खेद व्यक्त गर्दै विरोधमा जाने निर्णय गरेपछि ओली समूह अतालिएको छ । निर्णय भएलगत्तै सोमबार सुदूरपश्चिम प्रदेश पुगेका मन्त्री भट्टले जालझेल र षड्यन्त्रमा पारेर संघीय सरकारविरुद्ध निर्णय गर्न लगाइएको आरोप लगाएका छन् । जबकि, नेकपाका ३९ मध्ये ३० जना प्रदेश सभा जनप्रतिनिधिले सत्तापक्षीय दबाब र प्रलोभनलाई बेवास्ता गर्दै संसद विघटनविरुद्ध जाने निर्णयमा हस्ताक्षर गरेको प्रमुख सचेतक तारालामा तामाङले बताएका छन् ।

सर्वोच्च अदालतदेखि निर्वाचन आयोगसम्मबाट सकारात्मक संकेत नदेखिएपछि निकै हतास मनस्थितिमा सुदूरपश्चिम पुगेका मन्त्री भट्टले समानुपातिक प्रदेशसभा सदस्यहरुलाई निलम्बित गर्नेसमेतका धम्की दिएर सो निर्णयमा हस्ताक्षर गर्न लगाइएको दाबी गरेका छन् । ‘हामी कुनै जालझेलको राजनीति गर्दैनौँ, स्वच्छ राजनिति गर्छौँ तर यहाँ सांसदहरुलाई धम्काएर र थर्काएर संघ सरकारविरुद्ध निर्णयमा हस्ताक्षर गर्न लगाइएको छ,’ उनले भने । नेकपा प्रचण्ड–नेपाल समूहमाथि यस्ता आरोप लगाइरहँदा ओली समूहले केन्द्रदेखि स्थानीय वडासम्म सत्ताको दुरुपयोग गर्दै कसरी नेताहरुलाई मन्त्री बनाइएका छन्, प्रदेश सांसदलाई मन्त्री बनाउने आश्वासन दिइएका छन् र पदहरु बाँडिएका छन् भन्नेमा कोही बेखर भने छैनन् ।

संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा परेका १२ वटा रिटमाथि सुनुवाइ भइरहेका बेला मन्त्री भट्टले निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न आग्रह गरे । ‘निर्वाचन सरकारले तोकेकै समयमा हुन्छ, निर्वाचन हुँदैन भन्ने भ्रममा नपरौँ,’ उनले भने । प्रधानमन्त्री ओलीकै शैलीमा गालीमा उत्रिएका उनले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टमा राजनीतिक संस्कार नै नभएको आरोप लगाए । पार्टी विभाजनअघिका आफ्ना विशेष पात्र मुख्यमन्त्री भट्ट अहिले प्रचण्ड–माधव समूहमा देखिएपछि उनको आक्रोश बढेको हो ।

उनी प्रचण्डमाथि पनि उस्तै गरी खनिए । प्रचण्डले अहिलेसम्म १० वटा सरकार ढाल्ने काममात्रै गरेको मन्त्री भट्टको आरोप छ । ‘लामो समयदेखि प्रचण्डसँग काम गरेको अनुभव मसँग छ,’ उनले भने, ‘पार्टी फोड्ने र बनाउने काममा उहाँ १ नम्बरको नेता हो ।’

प्रदेशसभा विघटनका लागि छलफल

देशका सातै प्रदेश सभाहरुमा कमजोर देखिएको ओली समूहले जिल्ला जिल्लामा प्रदेश सभा विघटनको धम्की दिने गरेको छ । भट्टले पनि प्रदेश सभा विघटनका लागि पार्टीको स्थायी कमिटी र सरकारले अध्ययन गरिरहेको भन्दै विघटन गर्नुपर्ने अवस्था आए आफूहरू पछि नहट्ने चेतावनी दिए ।

संविधानविपरीत संसद विघटन गर्दा कुन स्तरको राजनीतिक र आर्थिक क्षति मुलुकले भोगिरहेको भन्ने कुरा प्रचण्ड-माधव समूह र नेपाली कांग्रेससमेतले जनतालाई बुझाउन नसकिरहेका बेला ओली समूहले संसद विघटन गरेर सांसदले पाउने तलबभत्ताबापतको अर्बौं रकम जोगाएको प्रोपोगाण्डा गरिरहेको छ । प्रदेश सभा विघटन पनि त्यसकै लागि औचित्यपूर्ण भएको भ्रम ओली समूहले जनतामा छरिरहेको छ ।

सचिवालयदेखि केन्द्रीय कमिटी, स्थायी समिति, जिल्ला, नगर, गाउँका साथै विभिन्न जनवर्गीय संगठनहरुमा समेत २० प्रतिशतभन्दा बढी नेता कार्यकर्ता पछि नलागेको ओली समूहले पार्टीमा आफूलाई नै सर्वश्रेष्ठ ठानिरहेको छ । ‘पार्टीको संस्थापन पक्ष हामी हौँ र हामीले अहिले सत्ता साझेदार, प्रदेश सरकार फेरबदलका विषयमा यो नै गर्ने भनेर निर्णय गरिसकेका छैनौँ तर यसमा स्थायी कमिटी र सरकारले गम्भीरतापूर्वक हेरिरहेको छ, आवश्यकताअनुसार निर्णय लिन्छौँ,’ उनले भने ।

प्रकाशित समय ०७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु