गृहपृष्ठ स्यागे र घेर्मुलाई जोड्न अस्थायी मोटरेबल पुल निर्माण
स्यागे र घेर्मुलाई जोड्न अस्थायी मोटरेबल पुल निर्माण
लमजुङका स्थानीयले मर्स्याङ्दी गाउँपालिका ४ स्यागे र वडा नम्बर ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन् । स्यागेका समाजसेवी नरबहादुर गुरुङको अग्रसरतामा पुल निर्माण भएको हो ।
नवनिर्मित पुलको समाजसेवी स्व. मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले आइतबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । पुल निर्माणसँगै गाउँगाउँमा उत्पादित तरकारी बजारसम्म लैजान सहज हुने उनीहरूले बताए ।
गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्ससमेत सहज रुपमा आउन सक्ने भएकाले स्थानीयलाई धेरै फाइदा पुग्ने उनीहरूको भनाइ छ । त्यस्तै समाजसेवी नरबहादुर गुरुङले भने, ‘हामीलाई वारपार गर्न कठिन भएकाले स्थानीय सबै मिलेर पुल निर्माण गर्न सक्यौँ । यो स्थायी नभएकाले वर्षातमा बाढीले लैजाने खतरा भने छ । केही समयका लागि भए पनि पुलले ती दुई वडाका स्थानीय सजिलैसँग वारपार गर्नुका साथै सवारी साधनमा यात्रा गर्न सहज भएको उनले बताए ।
पुल बनाउन ४ लाख ६६ हजार रुपैयाँ संकलन भएको स्थानीयको भनाइ छ । पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले संकलित रकममध्ये २ लाख ७८ हजार रुपैयाँ पुल निर्माणमा खर्च भएको बताए । घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय हर्षित भएका छन् । (रासस)
प्रकाशित समय ०७:२२ बजे

















