गृहपृष्ठ हरेक पाँचमध्ये एक परिवारसँग छैन पर्याप्त खाद्यान्न

हरेक पाँचमध्ये एक परिवारसँग छैन पर्याप्त खाद्यान्न

Poverty_NewsKarobar

नेपालका हरेक पाँचमध्ये एक परिवारले आफ्ना परिवारका लागि दैनिक आधारमा पर्याप्त खाद्यान्न उपलब्ध गराउन संघर्ष गरिरहेको एक अध्ययनले देखाएको छ । युनिसेफ नेपाल र सेयरकास्ट इनिसियटिभ नेपालले  गरेको चार चरणको सर्वेअनुसार नेपालका औसत २० प्रतिशत परिवारले भरभेट खान संघर्ष गरिरहेको देखिएको हो ।

युनिसेफ नेपाल र सेयरकास्ट इनिसियटिभ नेपालले सन् २०२० को मे महिनादेखि हरेक २ महिनाको अन्तरमा नेपालभरिका ६ हजार ५८८ परिवारमाझ सर्वे गरेका थिए । नेपालमा बालबालिका र परिवारका सदस्य माझ कोभिड-१९ले पारेको सामाजिक आर्थिक प्रभावका बारेमा सर्वेक्षणमा सहभागीमध्ये ११ प्रतिशतले पहिलाका तुलनामा खाना कम खाने गरेको बताएका छन् ।

सर्वेक्षणअनुसार भरभेट खान संघर्ष गरिरहेको परिवारको अनुपात प्रदेश नं २ मा सर्वाधिक (३४ प्रतिशत) छ भने सुदूरपश्चिममा २१ प्रतिशत छ । प्रदेश १, २ र लुम्बिनीमा अगस्त महिनाका तुलनामा अक्टोबरमा खानका लागि संघर्ष गरिरहेका परिवराको अनुपात बढेको सर्वेक्षणका नतिजाले देखाएको छ ।

लामो अवधिका लकडाउनले नियमित आयआर्जन गुमाएका कारण आफूसँग पर्याप्त पैसा नभएको र खाद्यान्नको मूल्य बढेको कारणले दैनिक आधारमा पर्याप्त खाना उपलब्ध गर्न असफल भएको उत्तरदाताहरूले बताएका छन् ।

अध्ययनअनुसार हरेक १० मध्ये एक परिवारका बालबालिकाले शरीरका लागि आवश्यकभन्दा कम पोषण अनुपात (डाइटेरी इन्टेक)मा खाद्य उपभोग गर्न बाध्य भएको बताएका छन् ।

कोभिड-१९ र लामो अवधिको लकडाउनका असर नेपाली परिवारहरूका आय र उनीहरूको खर्चमा पर्न थालेको अध्यययनले देखाएको छ । अध्ययनमा सहभागीमध्ये ठूलो संख्या (४९ प्रतिशत)ले खर्च चलाउन ऋण/सापटी लिएको बताएका छन्, यसरी ऋण/सापटीबाट खर्च चलाउन बाध्य नेपालीहरूमध्ये दलितहरूको अनुपात निकै बढी (६१ प्रतिशत) छ ।

यसले नेपालीहरूलाई चरम गरिबीमा धकेल्ने जोखिम बढाएको अध्ययनमा उल्लेख छ । अध्ययअनुसार महिलाले नेतृत्व गरेको परिवारमा आफ्नो बचत कम खर्च गर्ने, परिवार र साथीभाइमा बढी आश्रित रहेको र रेमिट्यान्स पाउने गरेको सम्भावना बढी भएको अध्ययनले देखाएको छ ।

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु