गृहपृष्ठ बैँकिङ कसुर मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

बैँकिङ कसुर मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

pakrau-arrest-newskarobar

बैँकिङ कसुर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसुरदार ठहर भई फरार रहेका तीन जनालाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका १४ हनुमाननगर ठेगाना भएका ५१ वर्षीय रामबहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिका २ चिसापानी ठेगाना भएका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी गाउँपालिका २ ठेगाना भएका २९ वर्षीय विष्णु अंगाई छन् ।

रामबहादुरलाई आइतबार चितवन खैरेनी नगरपालिका ८ बाट, सुवासलाई शनिबार चितवन पुल्चोकबाट र विष्णुलाई शुक्रबार चितवन भरतपुरबाट लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी विभिन्न बैँकका चेक काटेर पीडितलाई दिई बैँकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले रामबहादुरलाई ५५ दिन कैद र २ करोड ३२ लाख २४ हजार १ सय रुपैयाँ जरिवाना, सुवासलाई १७ दिन कैद तथा ५९ लाख ७९ हजार रुपैयाँ जरिवाना र विष्णुलाई १ महिना कैद तथा १० लाख रुपैयाँ जरिवाना गरेको थियो ।उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत चितवनमा पेस गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच्, नागार्जुन नगरपालिका २ ठूलो भर्‍याङमा रहेको एनआईसी एसिया बैँकको एटीएम फोडेर चोरी गर्न लागेको अवस्थामा काठमाडौँ महानगरपालिका १६ माछापोखरी बस्ने बैतडीको महादेवस्थान गाउँपालिका ५ घर भएका २८ वर्षीय कमलबहादुर धानुकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कार्यमा संलग्न धानुकका साथी फरार रहेकले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु