गृहपृष्ठ ६ महिनामा साढे ६ खर्बको आयात, जम्मा ६० अर्बको निर्यात
६ महिनामा साढे ६ खर्बको आयात, जम्मा ६० अर्बको निर्यात
चालू आर्थिक वर्ष २०७७/७८ को पुससम्ममा आयात घट्दा निर्यात भने बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको ६ महिनाको तथ्यांकअनुसार आयातमा ५ प्रतिशत कमी आउँदा ६ प्रतिशतले निर्यात वृद्धि भएको हो ।
चालू आवको ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । यो आयात गत आवको सोही अवधिको तुलनामा ४.८१ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोडबराबरको वस्तु आयात भएको थियो ।
यसैगरी, ६ महिनाको अवधिमा साठी अर्ब ७९ करोड ९९ लाखको वस्तु निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६.१४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाखको वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार यो वर्ष व्यापार घाटामा ५.८ प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत छ ।
हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा ०.८७ प्रतिशतले घटेको छ । विभागको तथ्यांकअनुसार ६ महिनामा सात खर्ब २२ अर्ब ४४ करोडबराबरको वैदेशिक व्यापारबाट नेपालले ६ खर्ब ४६ करोड घाटा व्यहोरेको छ ।
तथ्यांकअनुसार साउनमा ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब ४ करोड र असोजमा एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो । त्यस्तै कात्तिकमा एक खर्ब १० अर्ब २२ करोड, मंसिरमा एक खर्ब २३ अर्ब एक करोड र पुसमा सबैभन्दा धेरै एक खर्ब ३५ अर्ब ७४ करोडबराबरको वस्तु आयात भएको छ । अर्धवार्षिक अवधिमा सबैभन्दा धेरै ३२ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको डिजेल आयात भएको छ ।
चालू आवको ६ महिनाको तुलनामा पुसमा मात्र एक खर्ब ३६ अर्बबराबरको वस्तु आयात भएको छ । हालसम्म विभागले एक खर्ब ८७ अर्ब राजस्व संकलन गरेको छ । यो वर्ष विभागले चार खर्ब ४० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
प्रकाशित समय १६:०५ बजे

















