गृहपृष्ठ धनगढीमा सरकारविरुद्ध शक्ति प्रदर्शन गर्ने थरुहट मोर्चाको चेतावनी
धनगढीमा सरकारविरुद्ध शक्ति प्रदर्शन गर्ने थरुहट मोर्चाको चेतावनी
थरुहट/थारुवान राष्ट्रिय मोर्चाले धनगढीमा सरकारविरुद्ध ५० हजार युवा उतार्ने चेतावनी दिएको छ । टीकापुर घटना मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला र प्रतिनिधिसभा विघटनविरुद्ध भन्दै सो मोर्चाले फागुन १५ र १६ गते धनगढीमा कम्ब्याट ड्रेसमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको हो ।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज थारुले भने, ‘हामीमाथि राज्यबाट निरन्तर दमन जारी छ । विद्रोहको तयारीमा छौ । धनगढी नै हब हो । कम्ब्याट ड्रेससहित ५० हजार युवा दस्ता प्रदर्शन गर्दैछौं ।’
कानुनी लडाइको क्रममा सर्वोच्च अदालत जाने र सडक संघर्ष गर्ने बताउँदै प्रवक्ता थारुले अबको आफुहरुको आन्दोलन धनगढी र टीकापुर केन्द्रित हुने उल्लेख गरे । ‘हामीलाई असह्य भएको भएको छ । आन्दोलन अब प्रतिरोधात्मक र प्रतिकात्मक हुन्छ । सरकारलाई असहयोग हुन्छ । सरकारलाई असफल बनाउँछौ । अन्तिम विद्रोहको तयारी नै हो,’ उनले अगाडि थपे ।
टीकापुर घटनालाई छानविन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनलाई आधार बनाएर राजनीतिक घटनाको रुपमा सम्बोधन हुनुपर्ने र कैद सजाय सुनाइएको नेता तथा कार्यकर्तालाई रिहाइ गर्नुपर्ने माग आफूहरुको रहेको उनको भनाइ थियो ।
पुस २ गते उच्च अदालत दिपायलले यसअघि जिल्ला अदालत कैलालीको फैसलालाई उल्ट्याउँदै मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण चौधरी सहितलाई जन्मकैद फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध मोर्चा विरोधमा उत्रिएको छ । आफूहरुको राजनीतिक लडाइलाई जातीय दृष्टिकोणभन्दा पनि पहिचान र अधिकार प्राप्तिको आन्दोलनको रुपमा हेर्नुपर्नेसमेत प्रवक्ता थारुको भनाइ थियो ।
संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा ८ प्रहरीको ज्यान जाने गरि टीकापुर घटना भएको थियो । राज्यले भदौ ७ गतेको घटनालाई आपराधिक ठहर गरेको छ भने भदौ ८ गते कर्फ्यूको समयमा थारुहरुको घर, पसल, एफएममा आगजनी गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने मोर्चाको जोड छ ।
प्रकाशित समय १९:५४ बजे
















