गृहपृष्ठ श्रममन्त्री चौधरीको पहिलो काम, कारबाहीमा परेको म्यानपावरलाई फुकुवा
श्रममन्त्री चौधरीको पहिलो काम, कारबाहीमा परेको म्यानपावरलाई फुकुवा
नेपाल कम्युनिस्ट पार्टीको गुट परिवर्तन गरेर मन्त्री बन्नकै लागि ओली समूहमा प्रवेश गरेका श्रममन्त्री गौरीशंकर चौधरीले अवैध काम गर्ने म्यानपावर कम्पनीमाथिको कारबाही फुकुवा गरिदिएका छन् । कतारको प्रहरी सेवामा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता लिएको पाएपछि दुई महिनाअघि वैदेशिक रोजगार विभागले विदेशमा श्रमिक पठाउन नसक्ने गरी कारबाही गरेको एसओएस म्यानपावर सर्भिस कम्पनीलाई मन्त्री चौधरीले फुकुवा गरिदिएका हुन् ।
विभागले अवैध अन्तरवार्ता चलाएको र श्रमिकसँग लाखौं रकम उठाएको भन्दै एसओएससहित डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल म्यानपावरलाई मंसिर ८ गते ६-६ महिनाका लागि निलम्बन गरेको थियो । मन्त्री चौधरीले माघ ८ गते मन्त्रिस्तरीय निर्णयबाट एसओएसमाथिको कारबाही गैरकानुनी र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको भन्दै उल्ट्याइदिएका हुन् ।
उनले एकै प्रकृतिको गल्ती गरेका अन्य दुई म्यानपावरको कारबाही भने कायमै राखेका छन् । विभागले तीनवटै कम्पनीमाथि वैदेशिक रोजगार ऐनको दफा ६१ को उपदफा (६) र (७) अनुसार कारबाही गरेको थियो । एसओएस म्यानपावर कम्पनीका सञ्चालक व्यवसायी हेमराज गुरुङ हुन् ।
संसद विघटन गरेर भ्रष्टाचार, सुशासन र समृद्धिका भाषण गर्दै जनता हँसाइरहेका केपी शर्मा ओलीले मन्त्रीकै लागि आफ्नो गुटमा आएकाहरूले गरेका गलत कामलाई कसरी लिन्छन् भन्ने हेर्न बाँकी रहेको एक म्यानपावर व्यवसायीले बताए । म्यानपावर क्षेत्रमा धेरै गलत काम हुने गरे पनि मन्त्री र सम्बन्धित देशको राजदूतकै आडमा सफाइ मिल्ने गरेको उनको अनुभव छ । उनी करिब १५ वर्षदेखि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
प्रकाशित समय ०७:३७ बजे

















