गृहपृष्ठ नेकपा नुवाकोटको अध्यक्षमा मैनाली
नेकपा नुवाकोटको अध्यक्षमा मैनाली
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट जिल्ला कमिटीको आजको विस्तारित बैठकले बाग्मती प्रदेशका सांसद बद्री मैनालीको अध्यक्षतामा जिल्ला कमिटी पुनः गठन गरेको छ । मैनाली तत्कालीन नेकपा (एमाले) मा जिल्ला उपाध्यक्ष थिए ।
नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु केशव पाण्डे, रामशरण प्याकूरेल, वृन्दा ढुंगाना, ठाकुर गजुरेल, विजय लोप्चन र बाग्मती प्रदेशका सचिव खेमप्रसाद लोहनीलगायतको उपस्थितिमा भएको बैठकले अध्यक्ष हीरानाथ खतिवडा र नारायणप्रसाद खतिवडाले प्रभावकारीरुपमा जिम्मेवारी निर्वाह नगरेको जनाउँदै उनीहरुलाई जिम्मेवारीमुक्त गरेको जिल्ला सदस्य माधवप्रसाद तिवारीले जानकारी दिए ।
बैठकले साविकको जिल्ला समितिमा २७१ सदस्य थप गरी ७०२ कायम गरेको छ भने सचिवको चयन आगामी बैठकले गर्ने जनाइएको छ । बैठकले आर्थिक व्यवस्थाको काम व्यवस्थित गर्न बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालको संयोजकत्वमा कोष व्यवस्थापन समिति गठन गरेको छ । समितिमा तारकेश्वर गाउँपालिकाका उपप्रमुख रमेश वस्ती उपसंयोजक रहेका थिए । पुनःगठित कमिटीले यही माघ १९ गते बट्टारमा उपप्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलको उपस्थितिमा अगुवा कार्यकर्ता भेला आयोजना गर्नेछ । (रासस)
प्रकाशित समय ०७:१० बजे
















