गृहपृष्ठ बल्खु तरकारी बजारमा एनएमबी बैँकको क्यूआर अभियान
बल्खु तरकारी बजारमा एनएमबी बैँकको क्यूआर अभियान
एनएमबी बैँकले बल्खु कृषि तथा तरकारी बजारमा क्यूआर अभियान सञ्चालन गरेको छ । बैँकले ४५० व्यवसायी रहेको तरकारी बजारस्थलमै क्यूआर कोड हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले एक धार्नी प्याज किनेर क्यूआर कोडमार्फत भुक्तानी गरेका छन् । कार्यक्रम उद्घाटन गर्दै उनले राष्ट्र बैँकको नगदरहित विद्युतीय भुक्तानी प्रवर्धन गर्ने अभियानमा साथ दिन सबैलाई आग्रह गरे । ‘क्यालेस भुक्तानी प्रणालीले हामीलाई व्यावसायिक सुशासन र पारदर्शितामात्र प्रदान गर्दैन, कोभिड-१९ बाट छिटो बाहिर निस्किन पनि सहयोग गर्छ,’ उनले भने, ‘र, हामी सबैको साथ र सहयोगले मात्र यो सम्भव छ ।’ गभर्नर अधिकारीले कारोबारका सबै किसिमका झन्झट र जोखिम कम गर्न क्यूआर उपयक्त प्रणाली भएको जानकारी गराए ।
त्यस्तै एनएमबी बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले सरकारको ‘डिजिटल नेपाल’ बनाउन अभियानमा बैँकको सदैव साथ रहने प्रतिबद्धता जनाए । ‘हामीले सबै सेवा डिजिटाइज गर्न ठूलो लगानी गरेका छौँ,’ कार्यक्रममा उपस्थित कृषक तथा व्यवसायीलाई उनले भने, ‘छिट्टै मोबाइलबाटै कर्जा लिन सक्ने पद्धतिको सुरुवात गर्दै छौँ, हरेक कारोबारको भुक्तानी क्यूआरबाट गर्नुभयो भने तपाईंहरूलाई कर्जा दिने बलियो आधार तयार हुन्छ, तपाईंहरूको कारोबार हामीले स्वतः इभ्यालुएट गर्न सक्ने भएकाले कर्जा प्रवाह पनि सहज हुन्छ ।’
उनले व्यवसायीको दैनिकको सानो‑सानो बचतबाट नै बैँकहरूले ठूला‑ठूला आयोजनामा लगानी गर्ने भएकाले थोरै बचत पनि बैँकमा राख्दा मुलुक विकासमा ठूलो भूमिका निर्वाह हुने र व्यवसायीलाई ब्याज पनि प्राप्त हुने जानकारी गराए ।
बजारका सञ्चालक मोहन बस्नेतले क्यूआर भुक्तानी सजिलोमात्रै नभएर सुरक्षाका लागि सबै व्यवसायीले प्रयोगमा ल्याउनुपर्ने बताए । उनले तरकारी बजारका व्यवसायीदेखि कृषकसम्मलाई क्यूआर कोडबाट भुक्तानीका लागि प्रेरित गर्ने प्रतिबद्धता जनाए ।
बैँकले कार्यक्रम स्थलमै बूढाथोकी भेजिटेबल सप्लायर्सकी सञ्चालक निर्मला बुढाथोकी र सजनी भेजिटेबल सप्लायर्सकी सञ्चालक सजनी राउतलाई सहुलियत कर्जाको प्रस्ताव पत्र प्रदान गरेको छ । आजै बजार क्षेत्रका २ सयभन्दा बढी व्यवसायीले पसलमा क्यूआर थ्रेड राखेको बैँकले जनाएको छ । बैँकले क्यूआर कोडमा अभ्यस्त बनाउन कर्मचारीको टोली नै केही समयका लागि बजारमा पठाउने भएको छ ।
प्रकाशित समय ११:२३ बजे

















