गृहपृष्ठ फलफूल बजारमा नबिल बैँकको क्यूआर हस्तान्तरण कार्यक्रम

फलफूल बजारमा नबिल बैँकको क्यूआर हस्तान्तरण कार्यक्रम

साइकल फलफूल बेच्ने व्यवसायीसँग केरा किनेर क्यूआर कोडबाट भुक्तानी गर्दै गभर्नर महाप्रसाद अधिकारी । साथमा नबिल बैँकका सीईओ अनिलकेशरी शाह ।

नबिल बैँकले नेपाल फलफूल थोक व्यवसायी संघद्वारा बल्खुमा सञ्चालन फलफूल बजारमा क्यूआर हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । २५० व्यवसायी रहेको थोक बजारस्थलमै कार्यक्रम गरी बैँकले क्यूआर कोडबाट भुक्तानी गर्न र गराउन आग्रह गरेको छ ।

कार्यक्रममा राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले थोक पसलबाट १० किलो स्याउ र साइकलसँग एक दर्जन केरा किनेर क्यूआर कोडमार्फत भुक्तानी गरेका छन् । क्यूआर कोड भुक्तानी राष्ट्र बैँकको नगदरहित विद्युतीय भुक्तानी अभियानको महत्वपूर्ण अंग भएको उनले ताए । ‘नगदरहित भुक्तानी प्रणाली छिटोछरितो, सहज र विश्वसनीयमात्र छैन, यसले हामीलाई विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट छिटो बाहिर निस्किन पनि सहयोग गर्छ,’ उनले भने, ‘एटीएम चलाउँदा जस्तो पैसा विदेश जाँदैन र किनबेचको पैसा मिसप्लेस हुने, हराउने जस्ता समस्या पनि हुँदैन ।’

गभर्नर अधिकारीले आफूले हस्ताक्षर गरेका नोट सबैका हात‑हातमा होउन् भन्ने चाहना आफूलाई नभएको बताए । ‘म मेरो साइन भएका नोट सबैका हातमा होउन् भन्ने चाहन्न, बरु क्यासलेस सोसाइटी चाहन्छु,’ उनले भने, ‘क्यूआरमा साथ दिनुहोस्, कर्जा लिन बैँक जानु पर्दैन, तपाईंहरूको स्टाटस हेरेर बैँकहरू स्वयं कर्जा दिन आउँछन् ।’

नबिल बैँकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले डिजिटल भुक्तानी व्यवसायी, ग्राहक र देशकै लागि लाभदायक रहेको बताए । सञ्चालन खर्च घटाउन र झन्झटरहित कारोबारका लागि क्यूआर कोड भुक्तानीलाई प्राथमिकतामा राख्ने उनले व्यवसायीलाई आग्रह गरे ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले नबिल बैँकले व्यवसायीका सबै किसिमका कारोबारमा सहयोग गर्ने प्रतिबद्धता जनाए । क्यूआर थ्रेड राखेरमात्रै नहुने भएकाले प्रयोग बढाउन बैँकले फलफूल बजारमा टिम परिचालन गर्ने उनले जानकारी दिए ।

कृषि बजार विकास कम्पनीका अध्यक्ष कुमार पाण्डेले व्यवस्थित बजारका लागि काम भइरहेकाले त्यसमा पनि सहयोग गर्न नबिल बैँकसँग आग्रह गरे । त्यस्तै नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाले ठूलो पैसा गल्लामा रहँको जोखिम र बैँकसम्म लैजानुपर्ने झन्झट हटाउन क्यूआर कोडको बढीभन्दा बढी प्रयोग गर्न व्यवसायीलाई आग्रह गरे ।

संघका महासचिव विनोद पाण्डेले महामारीमा मात्र नभएर अब सधैँ क्यूआरमा जानुपर्ने बताए । आन्तरिक उत्पादनको प्रवर्धनका लागि व्यवस्थित बजारको अपरिहार्यता र त्यसमा सम्बन्धित निकायबाट सहयोगको उनले अपेक्षा गरे । फलफूल बजारका सयभन्दा बढी व्यवसायीले आजै क्यूआर थ्रेड राखिसकेको संघले जनाएको छ ।

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु