गृहपृष्ठ नेपाल यातायातमा मुक्तिनाथ बैंकको ‘क्यूआर कोड’
नेपाल यातायातमा मुक्तिनाथ बैंकको ‘क्यूआर कोड’
मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिँदै नेपालको यातायात क्षेत्रमा पनि QR मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ । काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात एक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी ‘क्यूआर कोड’मार्फत भुक्तानी लिने कार्य मंगलबारबाट सुरु भएको छ ।
अब नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले बसमा भएको मुक्तिनाथ बैंकको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा भाडाबापतको रकम भुक्तानी गर्न सक्नेछन् । यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ति पाइने र नोटको हिफाजतमा वृद्धि हुनुका साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरत राज ढकालले क्यूआर कोडको उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ, बैंकका कर्मचारीहरु, यातायात व्यवसायी तथा ग्राहकहरुको उपस्थिति थियो ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स रकम जम्मा गर्ने आदि सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रकाशित समय १६:३१ बजे

















