गृहपृष्ठ बैतडीमा बाँदर आतंकले नाघ्यो सीमा, कृषकले गुहारे सरकार
बैतडीमा बाँदर आतंकले नाघ्यो सीमा, कृषकले गुहारे सरकार
लखेट्ने अभियान थालेपछि झन् थेत्तरा बन्दै बाँदर
बाँदरले खाद्यबाली नष्ट गर्न थालेपछि बैतडीको दशरथचन्द नगरपालिकाका अधिकांश कृषकले बाली नै लगाउन छाडेका छन् । फलफूलमा यो नगरपालिका आत्मनिर्भर मानिन्छ । तर, बाँदर आतंक बढेपछि कृषकले लगाएको फलफूल पनि संरक्षण गर्न सकिरहेका छैनन् ।
फलफूल कुर्न बसेका कृषकमाथि नै बाँदरले आक्रमण गर्न थालेपछि हरियाली नगरपालिका विस्तारै उजाडिन थालेको छ । बारीको फलफूलमा बाँदरको रजाइँ हुन थालेपछि भएको बालीको हेरचाह गर्न छाडेको र नयाँ बाली लगाउन पनि छाडेको स्थानीय भुवन चन्दले बताए । ‘उत्पादित फलफूल नै जोगाउन सकिएको छैन, नयाँ बाली लगाउने त कुरै भएन नि !’ उनले भने ।
बाँदरपीडित स्थानीय भुमिका चन्दले अन्नबाली नष्ट गर्नुका साथै बाँदरले आफूहरुमाथि आक्रमण गर्न थालेपछि ज्यान जोगाउन नै कठिन भएको गुनासो गरिन् । ‘म आफैँ पीडित हुँ,’ उनले भनिन्, ‘बाली जोगाउन भनेर बाँदर धपाउन गएको थिएँ, बाँदरको समूह मैतिर जाइलाग्यो, धन्य, भागेर घर पसेँ ।’
दशरथचन्द नगरपालिकाले केही दिनअघि बजेट नै छुट्याएर बाँदर धपाउने अभियान सुरु गरेको थियो । त्यसअघि बाँदरले अन्नबालीमात्रै नस्ट गर्थ्यो । तर, अभियानपछि बाँदर पनि आक्रामक भएका छन् । ‘हामीले लखेट्ने अभियान थालेपछि बाँदर झन् थेत्तरा भएका छन्,’ कृषक बलराम धामीले भने, ‘अब त हामीमाथि नै जाइलाग्न थालेका छन् ।’ कृषकहरुले बाँदर आतंकबाट आफूहरुलाई मुक्त गर्न सरकारसँग आग्रह गरेका छन् ।
स्थानीय सरकारले पनि विभिन्न उपाय नखोजेको होइन । बाँदर आतंकबाट मुक्ति पाउन नगरपालिकाले हालैमात्र विज्ञहरुसँग परामर्श गरेको उपप्रमुख मीना चन्दले जानकारी दिइन् । तर, विज्ञहरूले बाँदरले नरुचाउने बाली लगाउन सुझाव दिए । ‘तत्कालका लागि भाला र मुङ्ग्रोले काम चलाउँछौँ,’ उपमेयर चन्दले भनिन्, ‘तर दीर्घकालीन समाधानका लागि त विशेष रणनीति नै तय गर्नुपर्ने स्थिति छ ।’
स्थानीयबासीका अनुसार दशरथचन्द नगरपालिकामा पाइने बाँदर रातो प्रजातिका हुन् । यस्ता बाँदर निकै चलाख र आक्रामक हुन्छन् । मानिसको बस्तीमा प्रवेश गरेकाले प्राकृतिकभन्दा पनि बढी तयारी खाना खाँदा यस्ता बाँदरको प्रजनन क्षमता बढी हुने र संख्या बढ्दै जाने गरेको बाँदर विशेषज्ञ लक्ष्मण खनालको भनाइ छ । ‘त्यसैले पनि यो समस्यालाई हल्का रुपमा लिन हुँदैन,‘ उनी भन्छन्, ‘बाली त नष्ट गर्छ नै, मान्छेमाथि पनि आक्रमण गर्दा त्यसले मानवीय क्षतिसँगै विभिन्न रोगहरु पनि निम्त्याउन सक्छ ।’
प्रकाशित समय ०७:११ बजे
















