गृहपृष्ठ इजिप्ट भर्सेस उरुग्वे, कसकाे सम्भावना ?

इजिप्ट भर्सेस उरुग्वे, कसकाे सम्भावना ?

बिहीबारबाट रुसमा सुरु विश्वकप फुटबलमा शुक्रबार (आज) इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । एकाटेरीनबर्गस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे हुने समूह ‘ए’ को दोस्रो खेलमा यी दुई टोली भिड्न लागेका हुन् ।

सन् १९९० पछि बल्ल विश्वकप मैदानमा उत्रिन लागेको इजिप्ट र १९३० र १९५० गरी दुई पटक विश्वकप उपाधि उचालिसकेको उरुग्वेबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
यसअघिका विश्वकपमा खासै राम्रो प्रदर्शन गर्न नसकेको अफ्रिकन टोली इजिप्ट यसपटक निकै लयमा देखिएको छ । त्यसैले फिफा वरियतामा ४६ औँ स्थानमा रहेको इजिप्टलाई विश्वकपमा समूह ‘ए’ को बलियो टोलीका रुममा हेरिएको छ । इजिप्टसँग बलियो ‘लाइनअप’ नभएपनि उसको पछिल्ला प्रदर्शनहरु निकै उत्कष्ट छन् ।

इजिप्टले आज मैदान उतार्ने तयारी गरेका खेलाडी
इजिप्टबाट पहिलो खेलमा मोहम्मद एल सेन्नावी, अलि गर्ब, अहमद हेगाजी, अहमद फाथी, मोहम्मद अब्देल सफी, तारेक हमेद, मोहम्मद एल नेनी, अब्दल्ला सइद, रामादन सोब्ही, मोहमुद हसन, मारवन मोहसेन मैदान उत्रने सम्भावना छ । (मोहम्मद सलाहबारे प्रशिक्षक हेक्टर कुपरले निर्णय लिनेछन् )

इजिप्टले आफ्नो पहिलो खेलमा मोहम्मद एल सेन्नावीलाई गोलकीपरको रुपमा मैदान उतार्ने तयारी गरेको छ । उनी अल एलि क्लबबाट खेल्दै आएका छन् । डिफेन्समा अल एलि क्लबकै अहमद फाथी, वेस्ट ब्रुमका अहमद हेगाजी र जमालेकका अलि गर्ब शुक्रबार मैदान उत्रिन लागेका छन् ।

मिडफिल्डरमा जमालेकका तारेक हमेद, अल एलिका अब्दल्ला सइद, आर्सनलका मोहम्मद एल नेनी, स्टोक सिटीका रामादन सोब्ही, कासिमपासाका मोहमुद हसन उरुग्वेविरुद्ध मैदान उत्रदैछन् । इजिप्टका प्रशिक्षकले भनेअनुसार फरवार्डमा लिभरपुलका मोहम्मद सलाह हुनेछन् ।

त्यसो त, उरुग्वेको इतिहास इजिप्टको तुलनामा बलियो छ । उसले दुई पटक विश्वकप उपाधि जितिसकेको छ । यद्यपि, ब्राजिल विश्वकपमा भने यो टोली समूह चरणबाटै घर फर्किएको थियो । यसपटक समूह चरण सहजै पार गर्ने उसको दाउ छ । हुन पनि उरुग्वे युरोपियन लिग र दक्षिण अमेरिकी लिगका चर्चित खेलाडी लिएर मैदान उत्रदैछ ।

उरुग्वेले मैदान उतार्ने तयारी गरेका खेलाडी
लुइस स्वारेज, फर्नान्दो मुस्लेरा, गुलेर्मो भारेला, जोसे मारिया गिमेन्ज, डिएगो गोडिन, मार्टिन क्यासिरेस, नाहिटन नान्देज, माटियस भेसिनो, क्रिष्टियन रोर्डिगेज, जर्जियन डि एरेसकेता, इडिसन काभानीलाई उरुग्वेले मैदान उतार्ने सम्भावना छ । यीमध्ये केही खेलाडी आ–आफ्नो क्लबका उत्कृष्ट मानिन्छन् ।

गोलकीपर फर्नान्दो मुस्लेरा गालातार्से क्लबका हुन् । उनी निकै किफायती गोलकीपर मानिन्छन् । डिफेन्डरमा एट्लेटिको मड्रिडका डिएगो गोडिन, जस मारिया गिमेन्ज छन् । यस्तै मार्टिन क्यासिरेस लेजिओ क्लबका हुन् भने गुलेर्मो भारेला पेनारोल क्लबका हुन् ।

मिडफिल्डरमा माटियस भेसिनो इन्टर मिलान क्लब, जर्जियन डि एरेसकेता गुजेरिओ क्लब र क्रिष्टियन रोर्डिगेज पेनारोल क्लबका हुन् । फरवार्डमा पेरिस सेन्ट जर्मेनका इडिसन काभानी, बार्सिलोनाका लुइस स्वारेज हुनेछन् ।

सलाह भर्सेस स्वारेज


इजिप्ट र उरुग्वेबीचको प्रतिस्पर्धालाई खासगरी दुबै टोलीका दुई स्टार खेलाडीको प्रतिष्ठाका रुपमा हेरिएको छ । दुबै टोलीका शुभचिन्तकका आँखा इजिप्टका मोहमद सलाह र उरुग्वेका लुइस स्वारेजतिर नै छ । सलाहमाथि अफ्रिकन जगतको ठूलो भर छ भने उरुग्वेसहित उसका शुभचिन्तकलाई स्वारेजमाथि ।

च्याम्पियन्स लिग फुटबलमा फाइनल दौरान काँधमा चोट लागेर घाइते भएका सलाह निको भइसकेको इजिप्टका प्रशिक्षकले बताएका छन् । मे २६ मा लिभरपुलबाट रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल्नेक्रममा सलाहलाई चोट लागेको थियो । उक्त खेल लिभरपुल ३–१ ले पराजित भएको थियो । विश्वकपमा सलाह कहलिएकामध्ये एक नाम हुन् र उत्तरी अफ्रिकी राष्ट्रको धेरै आशा उनीमाथि नै छ । सलाह मैदान उत्रिएमा विपक्षी टोलीको डिफेन्सलाइन निकै व्यस्त हुनेछ ।

तर, उरुग्वेले पनि इजिप्टलाई राम्रैसँग पेल्न सक्छ । किनकी उसँग स्वारेज र स्वारेजसँग भेट्रान खेलाडी इडिसन काभानी हुनेछन् । यी दुई स्टारको जोडी राम्रैसँग जम्ने गरेको छ । स्मरणीय छ, स्वारेज र काभानीले उरुग्वेका लागि ९३ गोल गरिसकेका छन् । जसमा स्वारेजको ५१ र काभानीको ४२ गोलको योगदान छ । इजिप्टविरुद्धको खेलमा पनि यी दुई जोडीको ट्याकल मिले इजिप्टका डिफेन्डरलाई रोक्न कठिन पर्नेछ ।

प्रकाशित समय ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु