गृहपृष्ठ संघीय संसदको संयुक्त बैठक बस्दै, सांसदलाई थाहै छैन
संघीय संसदको संयुक्त बैठक बस्दै, सांसदलाई थाहै छैन
बैठक नियमावली पारित गर्ने कार्यसूचि
संघीय संसदका दुवै सदनको संयुक्त बैठक आज बस्दैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेन केन्द्रमा अपरान्ह ४ बजेपछि बस्नेछ । सरकारको सिफारिसमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठकले संयुक्त कार्यसञ्चालन नियमावली पारित गर्ने छ ।
गत सोमबार संयुक्त बैठक बोलाइए पनि स्थगित भएको थियो । संयुक्त बैठक कसले आह्वान गर्ने भन्ने कानुनी प्रावधान नभएकाले राष्ट्रपतिमार्फत बैठक बोलाउन आग्रह भएको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए । नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुँदा भने राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठक बसेको थियो ।
राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यलाई संयुक्त बैठकको जानकारी नै दिइएको छैन । दुवै सदनको छुट्टाछुट्टै बैठक बिहान ११ बजे बस्दै छ । त्यही बेला संयुक्त बैठकको जानकारी दिइने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन बजेटमाथि छलफल जारी छ । आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । यी मन्त्रालयको बजेटमाथि शुक्रबार छलफल हुने भनिए पनि सत्तापक्षकै सांसद मन्त्रीविरुद्ध गालीगलौजमा उत्रिएपछि बैठक सारिएको थियो ।
प्रकाशित समय १०:४८ बजे
















