गृहपृष्ठ रवि लामिछाने अवैध कामदार
रवि लामिछाने अवैध कामदार
अघि बढ्यो कारबाही प्रक्रिया
‘सीधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रमका सञ्चालक रवि लामिछानेले अवैध ढंगबाट काम गरिरेको खुलासा भएको छ । ‘न्युज २४’ टेलिभिजनमा आम जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमका सञ्चालक लामिछानेले अबैध ढंगबाट काम गरिरहेको तथ्य बाहिर आएको हो । सोहीअनुसार उनीमाथि कारबाहीको तयारी अघि बढेको छ । उनी नेपाली नभई अमेरिकी नागरिक हुन् ।
विदेशी नागरिक भएकाले श्रमस्वीकृति नलिईकन अवैध ढंगले काम गरिरहेको भन्दै उनीविरुद्ध परेको उजुरी छानबिन गर्दा लामिछाने अवैध कामदार ठहरिएका हुन् । प्रेस काउन्सिल नेपालमा परेका विभिन्न उजुरी तथा त्यस सम्बन्धमा गृह मन्त्रालय र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा लामछिाने कानुनी कारबाहीको भागिदार बन्ने सम्भावना बलियो छ ।
प्रेस काउन्सिलका अनुसार उनले दुईवटा कानुन उल्लंघन गरेका छन् । छानबिनबाट लामेछानेले सूचना विभागबाट ‘प्रेस पास’ लिएका छैनन् र उनले प्राप्त गरेको ‘नाता भिसा’ लिएर नेपालमा पारिश्रमिक लिई वा नलिई कुनै पनि काम पाइँदैन । यसअनुसार काउन्सिलले लामिछानेविरुद्ध कारबाही प्रक्रिया थालेको सूचना अधिकारी दिपक खनालले न्युज कारोबारलाई बताए ।
अध्यागमन विभागले मंगलबार (५ असार २०७५ मा) प्रेस काउन्सिललाई पत्र लेख्दै लामिछानेलाई काम गर्न नदिन भनेको छ । चलानी नं. १५२७ को पत्रमा अध्यागमन विभागले लेखेको छ, ‘अमेरिकी राहदानी नम्बर ५१२९६६९८१ बाहक रवि लामिछानेलाई यस विभागबाट सन् ०४ अक्टोबर २०१८ सम्म अवधि रहेको गैरपर्यटक (नातेदार) भिसा जारी गरिएको छ ।’
लामिछाने न्युज २४ टेलिभिजनका अलवा अरु केही संस्थासँग समेत आबद्ध छन् । प्रतिष्ठित ‘वेलकम एड्भरटाइजिङ’को आधिकारिक वेबसाइटअनुसार लामिछाने सो संस्थामा ‘कन्सल्ट्यान्ट’ तथा पीआर प्रमुख हुन् ।
प्रकाशित समय २०:०२ बजे

















