गृहपृष्ठ बिउ उत्पादनमा नेपालकै ‘नम्बर वान’ सहकारी
बिउ उत्पादनमा नेपालकै ‘नम्बर वान’ सहकारी
खाद्यान्न, तेलहन र दलहन बालीको बिउ उत्पादनमा गुल्मीको मालिका कृषि सहकारी संस्था नेपालकै नमुना सहकारी संस्था घोषित भएको छ । नेपालमा पहिलो पटक नीजि क्षेत्रबाट मकै विउको जात विकास गरेका कारण नेपालमै नमुना सहकारीको रुपमा घोषित भएको हो ।
नीजि क्षेत्रबाट पहिलो पटक मकैको बिउ अनुसन्धान, परीक्षण गरी जात विकास गरेको कारण यसलाई नेपाल सरकारले पनि नमुना कार्यको रुपमा उल्लेख गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद्का अनुसार गुल्मी जिल्लामा उत्पादन गरिएको ‘रेसुङ्गा कम्पोजिट’ जातको मकै पहिलोपटक नीजि क्षेत्रबाट उन्मोचन गरिएको जात हो ।
२०५५ साल फागनु २९ गते एउटा कृषि समूहको रुपमा रेसुङ्गा नगरपालिका १० सिमिचौर गुल्मीमा स्थापना भएको समूहले २०६२ साल असोज १३ गते कृषि सहकारीको मान्यता पाएको थियो । आफ्नै कार्यालय भवनसमेत निर्माण सम्पन्न गरेको सहकारीले अहिले पनि गाउँमा मकै, तोरी, गहुँको बिउ उत्पादन गरी बिक्रिवितरण गर्दै आएको छ ।

सहकारीका अध्यक्ष हरिप्रसाद पाण्डेका अनुसार २०५७ सालमा किसानहरुले रामपुर कम्पोजिट, रेसुङ्गा कम्पोजिट, देउती, गुल्मी–२ जातका मकैका बिउ उत्पादन गरेका थिए । यस्तै मनकामना–३, मनकामना –५, मनकामना –६ जातका उन्नत विउ उत्पादन हुने गरेको छ ।
सहकारीले हाल मकैको अलवा तोरी, गहुँको समेत बिउ उत्पादन गरिरहेको छ । सहकारीले किसानका लागि उन्नत बिउबिजन कार्यक्रम बुटवलको सहयोगमा १४ लाख ९९ हजार रुपैयाँमा अनुदान सम्झौता समेत गरेको थियो । गत बर्षको कार्यविवरण अनुसार ७ लाख ६६ हजार रुपैयाँ अनुदानस्वरुप संस्थाले भुक्तानी पाइसकेको छ ।
उक्त सहकारीमा प्राधनमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत सहयोग गर्दैै आएको छ । गत बर्ष सहकारीले ९ टन मकैको विउ उत्पादन गरी बिक्रि गरेको थियो ।
सहकारीका व्यवस्थापक कृष्णप्रसाद अर्यालका अनुसार उत्पादन भएको विउ गुल्मी जिल्लाका अतिरिक्त, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतका जिल्लाहरुमा जाने गर्दछ । मध्यपहाडी जिल्लाको लागि सिफारिस गरिएको जात भएको कारण त्यीस्तै जिल्लाहरुमा मकैको बिउको माग बढ्दो छ । यो बर्ष किसानका लागि सहकारीले ६ सय १४ किलो बिउ उपलब्ध गराएको छ । त्यसमा ५० प्रतिशत अनुदानस्वरुप दिइने छ ।
किसानहरुले यस बर्ष १७ हेक्टर क्षेत्रफलमा बिउको लागि मकै रोपेका छन् । अहिले २÷२ किलो रामपुर कम्पोजिट र रेसुङ्गा कम्पोजित, डेढ किलो रेसुङ्गा र १÷१ किलो गुल्मी १ जातको मकैको बिउ किसानलाई उपलब्ध गराइएको व्यवस्थापनक अर्यालको भनाइ छ ।
गत बर्ष ६२ जना किसानले बिज वृद्धिको लागि मकै रोपेकोमा यस बर्ष ७५ जना किसानहरु सहभागी भएका छन् ।
प्रत्येक बर्ष किसानहरुले आधुनिक यन्त्रीकरण र प्रविधीको प्रयोग गरेका कारण १५ देखि २५ प्रतिशतसम्म उत्पादन वृद्धि हुने गरेको सहकारीको दाबी रहेको छ । गाउँमा एकजना किसानले ६ क्विन्टलसम्म मकैको विउ उत्पादन गर्ने गरेका छन् । अहिले नयाँ जात गुल्मी–२ उन्मोचनको तयारीमा रहेको जात हो । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खुमल २ जातको मकै परीक्षणको लागि समेत रोपेको छ । सहकारीमा कुल २ सय ९२ जना सदस्यहरु आबद्ध छन् भने ८५ जना किसानहरु विजवृद्धिमा आवद्ध भएका छन् । किसानहरुले सहकारीमार्फत बार्षिक ६२ लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएका छन् । मासिक १ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म जनही बचत संकलन समेत गर्दैै आएका छन् ।
प्रकाशित समय ११:२१ बजे

















