गृहपृष्ठ दुई साताभित्र जनवर्गीय संगठनबीच एकता
दुई साताभित्र जनवर्गीय संगठनबीच एकता
फाइल तस्बिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनवर्गीय संगठनको एकता दुई साताभित्र हुने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल, चितवनले अाइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीलाई संस्थागत गर्न जनवर्गीय संगठनकाे एकता अावश्यक रहेकाे बताए ।
नेता नेपालले जनतामा जानका लागि तत्कालिन एमाले र माओवादी केन्द्र अन्तरगतका दुई जनवर्गीय संगठनबीचको एकता आवश्यक रहेको उनकाे भनार्इ थियाे । जनचाहना र कार्यकर्ताको विश्वासका कारण दुई पार्टीबीच एकता भएको भन्दै नेपालले यसले मुलुकलाई समृद्धितर्फ लैजाने दावी गरे । जनवर्गीय संगठनलाई चलायमान बनाउन एकता आवश्यक रहेको नेपालले बताए । जनताले धेरै ठूलो आशा र भरोसा कम्युनिष्ट एकता र अहिलेको सरकारसँग गरेको भन्दै उनले अहिले विकासका लागि अनुकूल बातावरणा बनेको उल्लेख गरे ।
तीन तहको निर्वाचन सम्पन्न भएसँगै विकासका लागि वातावरण अनुकूल बन्दै गएको उल्लेख गर्दै नेपालले भने, ‘देशभित्र विकासको लहर ल्याउनुपर्छ भन्ने भावनाले वामपन्थी सरकार अघि बढेको छ ।’ सोहीअनुसार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराइएको उनकाे भनार्इ रहेकाे थियाे ।
पछिल्लो समय छिमेकीसँगको सम्बन्धमा आएको सुधारले पनि विकासका लागि वातावरण अनुकूल बनेको उनले बताए । सरकार भारत र चीनसँग सुमधुर सम्बन्ध स्थापित गर्न सफल भएको भन्दै नेता नेपालले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको दावी गरे ।
सरकारले सबै प्रकारका अनुचित क्रियाकलाप रोक्ने उद्घोष गरेको भन्दै उनले यो पुरा हुने लक्ष्यमा रहेको जानकारी दिए । सत्ताको दम्भले पार्टी बिग्रन सक्ने भन्दै त्यसबाट जोगाएर अघि बढ्नुपर्ने खाँचाे अाैल्याएका उनले नेकपामा महिलाको प्रतिनिधित्व संविधानतः छैन नि भन्ने जिज्ञाशामा सबैको व्यवस्था महाधिवेशनबाट हुने बताउनुभयो ।
(रासस)
प्रकाशित समय १९:१२ बजे
















