गृहपृष्ठ इजरायलमा नेपालीको हुण्डी ‘धन्दा’, लोभ कि बाध्यता ?

इजरायलमा नेपालीको हुण्डी ‘धन्दा’, लोभ कि बाध्यता ?

स्थायी घर धरान भएका इजरायल तेलअभिवका सुमन तामाङलाई हरेक महिनाको दश तारिख भ्यान–नभ्याइ नै हुन्छ । उनी इजरायलको व्यापारिक केन्द्र तेलअभिव, आफुल्ला, इन्गेभ, बेइतसनदेखि राजधानी जेरुसलोमसम्मका नेपालीहरुको पैसा संकलन गर्छन् र हुण्डी गरिदिन्छन् ।

इजरायलमा हरेक हप्ताको २४ घण्टा सब्बात (यहाँको शनिबारजस्तै) लाग्छ । त्यो समय यहुदीहरुले काम गर्दैनन् । त्यतिबेला यहुदीहरुको सवारीसमेत सडकमा देखिँदैनन् । उनीहरुले आफ्ना कामदारलाई पनि बिदा दिएका हुन्छन् । सुमन त्यही समयमा अरबीहरुले चलाउने सेरुत (ट्याक्सी) चढेर विभिन्न ठाउँमा पुग्छन् र रकम संकलन गर्छन् । त्यसपछि तेलअभिवमा रहेको मिज्राही बैंकमा लगेर जम्मा गर्छन् ।

कहिलेकाँही रोजगारदाताले काममा ध्यान दिन दिएको निर्देशन उनलाई चित्त बुझ्दैन र काम छाड्ने चेतावनी समेत दिन्छन् । अर्काकै देशमा भएपनि काम नपाउँदा उनलाई चिन्ता छैन । किनभने उनीसँग हुण्डी गर्नेहरुको च्यानल ठूलो छ ।

झापा घर भई हाल इजरायलको यारदेना बेतयोसेफमा केयर गिभरका रुपमा कार्यरत नेपाली आशिष बुढामगर इजरायल पुगेको ६ वर्ष भयो । पाँच वर्षअघि भारतीय बाटो हुँदै इजरायल छिरेका उनी अहिलेसम्म बैंक गएका छैनन् । यसको मतलव उनले पैसा नकमाएको भने होइन ।

उनी इजरायल गएदेखि नै हुण्डीमार्फत रकम नेपाल पठाउँदै आएका छन् । ‘यहाँदेखि बैंक पुग्न ३० शेकेल (इजरायली मुद्रा) अर्थात करिब ९ सय रुपैयाँ लाग्छ । त्यसपछि खाजा खान १५ शेकेल (करिब साढे चार सय रुपैयाँ) लाग्छ ।’ उनी भन्छन् ‘त्यति खर्च गरेर बैंक जानुभन्दा हुण्डी नै गर्न सजिलो र फाइदा छ ।’

इजरायलको इन्गेभमा रहेका सन्तोष कार्की भन्छन्, ‘बैंकसम्म पुगिराख्न समय पनि हुँदैन, बैंकले एक सेकेल बराबर २७ रुपैयाँ दिएको बेला हुण्डी एजेन्टले २८ दिन्छन् ।’ उनका अनुसार इन्गेभ क्षेत्रका प्राय सबै नेपालीहरु कमाएको रकम हुण्डीमार्फत नै घर पठाउँछन् ।

चितवन घर भई हाल इजरायलको यारदेनामा कृषि क्षेत्रमा कार्यरत सुगम मिश्र तलब आएकै साँझ आफ्नो घरमा पैसा पुग्ने दाबी गर्छन् । उनी भन्छन्– ‘तलब आउनुभन्दा तीन दिन अघि नै हुण्डी गर्ने दाईलाई फलानो दिन मेरो तलब आउँछ, पैसा घरमा दिन लाइदिनु है भनिदिन्छु, त्यसैले यहाँ मेरो तलब आएकै साँझ घरमा पैसा पुग्छ ।’

त्यसो त उनकै साथी सरोज हुमागाईंले ३ महिनाअघि हुण्डिबाट पैसा पठाउने हुँदा ३ लाख नेपाली रुपैयाँ पनि डुबाएका थिए । हुण्डि गरिदिने व्यक्ति पैसा लिएर फरार भएपछि उनको पैसा डुबेको हो । सुगम भन्छन्– ‘पहिले नै पैसा दिनु त रिस्क मोल्नु हो, त्यसैले पहिला पैसा घरमा पुगेपछि मात्रै दिन्छु ।’

हुण्डी गर्नु बाध्यता !
इजरायलमा हुण्डी कारोबार गर्ने बेला–बेला पक्राउ पर्छन् । तर, लुकिछिपी हुण्डी व्यवसाय संचालन गर्दै आएकाको संख्या पातलो छैन । सुमन त एउटा पात्र मात्रै हुन् । इजरायलमा नेपाल, थाईल्याण्ड, इथियोपिया, फिलिपिन्सलगायतका देशका कामदारको पैसा हुण्डी गरिदिने एजेन्टहरु थुप्रै छन् । सो क्षेत्रमा बैंकमा पुग्न केही कष्ट पर्छ । बैंकसम्म पुग्न एकदिन काम छाडेर नजिकको शहर पुग्नुपर्ने, बैंकसम्म जान लाग्ने भाडा र समय हिसाब गर्दा कामदारहरु त्यता उदाशीन बनेको बताउँछन् ।

हुन्डीमा हालिने पैसा कहाँ जान्छ ?

इजरायलबाट झण्डै ६० प्रतिशतभन्दा बढी नेपालीहरुले हुण्डी गर्ने गरेको रेमिटर्स बताउँछन् । इजरायलबाट हुण्डी गरेको रकमको भुक्तानी नेपालमा नेपाली रुपैयाँमा हुन्छ, इजरायलमा शेकेल नै बस्छ । त्यसरी बसेको रकम अवैध व्यपारका लागि प्रयोग हुने गरेको अनुमान गरिएको छ । श्रोतका अनुसार त्यो पैसा हङकङबाट नेपालतर्फ हुने सुन तस्करीमा बढी प्रयोग हुने गरेको छ । त्यस्तै नेपाल चीनबीच हुने अनौपचारिक व्यापारमा सो रकम प्रयोग हुने बताइन्छ ।

हुन्डी : कालो धन सेतो बनाउने बाटो
हुन्डीको कारोबार असाध्यै मौलाएपछि इजरायलका लागि नेपाली दूतावासले हुण्डी नगर्न नेपाली कामदाहरुलाई बेला–बेला सचेत गराउँदै आएको छ । नेपालबाट रोजगारीका लागि इजरायल पुगेका नेपालीमध्ये अधिकांशले कमाएको रकम हुण्डीमार्फत नै पठाउने गरेका छन् ।

हुण्डी गर्दा ट्याक्स नतिर्नुपर्ने भएकाले अलि बढी रकमदर पाइनु र रकम बोकेर बैंक वा रेमिटसम्म जानुनपर्ने भएकाले धेरैले हुण्डीको ‘जोखिम’ मोल्छन् । विदेशमै रहेर हुन्डीवालामार्फत् कारोबार गर्दा सजिलो हुने र बैंक मार्फत् पठाउँदा लाग्ने खर्च जोगिनुका साथै त्यसको सटही दर पनि पनि बढी दिने हुँदा पनि हुण्डीप्रति उनीहरुको आकर्षण बढेको देखिएको छ । तर, यसले राज्यलाई पुग्ने हानी र आइपर्न सक्ने जोखिमबारे भने हुण्डीमा कारोबार गर्नेले ध्यान पुर्याएका छैनन् ।

प्रकाशित समय ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु