गृहपृष्ठ विद्युत प्राधिकरण र तनहुँ हाइड्रोबीच बिजुली खरिद-बिक्री सम्झाैता

विद्युत प्राधिकरण र तनहुँ हाइड्रोबीच बिजुली खरिद-बिक्री सम्झाैता

तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणले किन्ने भएको छ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा प्राधिकरण र तनहुँ हाइड्रोबीच हस्ताक्षर भएको हो ।
प्राधिकरणका तर्फका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले शुक्रबार जलाशययुक्त आयोजनाको पहिलो पीपीएको रुपमा सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुने मितिदेखि ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन कम छ, सो समयसम्म प्राधिकरणले विद्युत खरिद गर्नेछ ।
आयोजनाले ३० चैत २०८० सम्ममा विद्युत उत्पादन गर्नेछ । प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुक्खायाम (१६ मंसिरदेखि १५ जेठसम्म) र वर्षायाम (१६ जेठदेखि १५ मंसिरसम्म)मा प्रतियुनिट क्रमशः १२.४० र ६.०८ रुपैयाँमा खरिद गर्नेछ ।
कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुक्खायामको ऊर्जा कुल वार्षिक उपलब्ध गराइएको उर्र्जाको ३५ प्रतिशतभन्दा कम भएमा उक्त वर्षका लागि आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध–जलाशययुक्त आयोजनाका लागि तोकिएको खरिददर लागू हुने सम्झौतामा उल्लेख छ ।
आयोजनाबाट उत्पादित विद्युत ऊर्जा दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित गरिनेछ ।
आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकन डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रकाशित समय १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु