गृहपृष्ठ नेकपाका तल्ला कमिटी एकता अन्योलमा
नेकपाका तल्ला कमिटी एकता अन्योलमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति एकीकृत भएको एक महिना भन्दा बढी समय भइसक्दा पनि प्रादेशिक र जिल्ला कमिटी एकीकरणको प्रयासमा अपेक्षाकृत प्रगति हुन सकिरहेको छैन । पार्टीका तल्ला कमिटी एकीकृत हुन नसकेकाले जनतासमक्ष एकातर्फ पार्टीको उपस्थिति अपेक्षाकृत हुन सकिरहेको छैन भने अर्कातर्फ तल्ला तहका नेता कार्यकर्तामा अहिले पनि दुईवटा पार्टीको स्थिती कायम छ ।
नेकपाका तल्ला कमिटी तथा जनवर्गीय संगठनको एकीकरणका लागि बनाउने भनिएको विधान बन्न नसक्दा यो प्रकृयानै अन्यौलमा परहेको छ । गत जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई गठन भएको नेकपाको तल्ला तहका कमटि एकताको विधान नबन्दा तिनीहरुको एकता अन्यौलमा परेको हो ।
नेकपाले विधान बनाउन तत्कालिन एमाले र माओवादीका सम्बन्धित प्रदेशका इन्चार्ज र संयोजकहरू रहने गरी चार–चार सदस्यीय कार्यदल गठन गरेको थियो । केन्द्रमा पार्टी एकता भएको तीन महिनाभित्र पार्टी र जन बर्गीय संगठनको एकीकरणका गरिसक्ने योजनाका साथ काम गर्न कार्यदललाई निर्देशन दिइएको थियो ।
तर, कार्यदलले एकतापछिको संगठन, सञ्चालनलगायतका विषयमा विधानलाई अन्तिम रुप दिन नसक्दा एकता लम्विएको एक नेताले बताए । ति नेताले न्युज कारोबारसंग भने ‘केन्द्रमा एकता भएको ३ महिनाभित्र तल्ला तहको सबै एकता सक्ने भनिएको छ, डेढ महनिा वित्यो तर विधालार्ई पुरा रुप दिन नसकेकोले एकता हुन सकिरहेको छैन ।’
किन अड्कियो विधान ?
जिल्ला किमिट तथा, जन बर्गीय संगठनको नेतृत्व लगायतका विषयमा तत्कालिन दुवै पार्टीका नेताहरुविचमा कुरा नमिल्दा विधानले पुर्णता पाउन नसकेको कार्यदलका एक सदस्यले बताए । जिल्ला कमिटीको आकारको विषयमा समेत कार्यदलमा कुरा नमिलेको कार्यदलका अर्का सदस्यले बताए । उनले न्युज कारोबारसँग भने, ‘केन्द्रले १ सय ७५ सदस्य नबढाई जिल्ला किमिटी गठन गर्न भनेको छ । तर, साविकका दुवै दलका धेरै नेताहरु जिल्ला कमिटिमा बस्न ईच्छुक छन्, यसैले कुरा मिल्न सकेको छैन ।’
यसबाहेक प्रदेश कमिटीको अध्यक्ष र इन्चार्जसिप केन्द्रीय नेताहरूले नै गरेपनि केन्द्रीय समितिमा परेका अरु नेताहरू प्रदेश कमिटीमा रहने–नरहने भन्ने पनि टुंगिएको छैन । नेकपाका २२ जनबर्गीय संगठन हुने विधानमा ब्यवस्था गरिएको छ । तर, जनबर्गीय संगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यको पार्टी हैसियत पार्टीका कुन कमिटी बराबर हुने भन्नेमा भन्नेमा अझैसम्म पनि सहमति जुट्न सकेको छैन ।
दुई अध्यक्षबीच छलफल हुन पाएन
यद्यपी कार्यदलका सदस्य मणि थापाले भने विधान बनाउन कुनै समस्या नरहेको दावी गर्दै पूर्ववतः दुवै संगठनविच सहमतिमै तत्कालै एकता हुने बताए । ‘तर जिल्ला तथा जनसंगठनको नेतृत्वका विषयमा छलफलका आधारमा भागबन्डा लगाएर सहमति खोज्न, केन्द्रबाट निर्देशन आएको छ, सोही अनुसार विधान बनाउने र एकताको तयारीमा छौं’ थापाले न्यूज कारोबारसँग भने । कमिटीहरू कति संख्याको बनाउने भनेर पूर्व पार्टीका कमिटीले पनि आ–आफ्नो समूहमा छलफल गरेर सुझावसहितको सूची कार्यदलमा पठाउन भनिएको थापाले बताए ।
छलफलमा देखिएका असहमतिबारे कार्यदलका सदस्यहरुले शीर्षनेताहरुसँग कुरा राख्ने तयारी गरेपनि समय पाएका छैनन् । जिल्ला तथा जन बर्गीय संगठनको एकता छिटो टुङग्याउन केन्द्रमा दुई अध्यक्षबीचमा छलफल हुन पाएको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली ६ दिने चीन भ्रमणबाट स्वदेश फर्कीएको ५ दिन भयो । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल पत्नीको उपचारका लागि सिंगापुर गएकाले दुई अध्यक्षविच भेट हुन पाएको छैन ।
सुझाव संकलन हुदै
अहिले प्रदेश कमिटीको कार्यदलमा आ–आफ्ना साविकका जिल्ला कमिटीको नाम संकलन गर्ने काम भईरहेको नेता वेदुराम भुसालले बताए । प्रदेश तथा जिल्ला कमिटीहरूको एकीकरणका लागि पूर्वः जिल्ला पार्टीका इन्चार्जसँग सुझाव लिन थालिएको उनले बताए । प्रदेश र जिल्ला कमिटीहरूको एकीकरणका लागि केन्द्रले हरेक प्रदेशमा चार सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलले जिल्ला इन्चार्जको संयुक्त बैठक बोलाएर एकीकरण के कसरी गर्ने भन्ने विषयमा सुझाव लिन थालेका छन् । नेकपा ३ नम्बर प्रदेशले एक साताअघि पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएर सुझाव लिएको थियो । जिल्ला इन्चार्जहरूले बैठकमा आफ्नो नेतृत्वको जिल्ला कमिटीको संख्या, पार्टीको अवस्था र अब बन्ने कमिटीको संख्यालगायतका विषयमा केन्द्रित रहेर सुझाव राखेको विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज रमेश मल्लले जानकारी दिए ।
प्रकाशित समय १८:२७ बजे
















