गृहपृष्ठ दक्ष कामदारको अभाव छ : उपाध्याय
दक्ष कामदारको अभाव छ : उपाध्याय
नेपाल घरेलु तथा साना उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष मुकेश उपाध्यायले नेपालमा कामदार भन्दा पनि दक्ष कामदारको अभाव भएको बताएका छन् । उनले नेपालमा दक्ष कामदारको अभाव भएकाले विदेशी नागरिकलाई रोजगारि दिनुपरिरहेको गुनासो पोखे । सीप सिकेर दक्ष बनेकाहरुलाई नेपालमै रोजगारीका पर्याप्त अबसरहरु रहेको उनले दावी गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आयोजना तथा रोजगार सुचना केन्द्र, श्रम कार्यालय विरानगरको समन्वय तथा कोइका र अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ)को सहयोगमा शनिबार विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उपाध्यायले यस्तो बताएका हुन् । उनले विभिन्न विश्वविद्यालय र प्राविधिक शिक्षालयहरुसँग महासंघले सहकार्य गरी उत्पादित जनशक्तिलाई रोजगारिको अबसर सिर्जना गरेको र अब शिक्षण संस्था तथा प्राविधिक शिक्षालयहरु सँग पनि सहकार्य गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यम समितिकी अध्यक्ष शिवा उपाध्याय(अञ्जु)ले घरेलु महासंघले रोजगार सुचना केन्द्र सँगको समन्वयमा रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुबीच पुलको काम गरिरहेको बताइन् । उनले बेरोजारलाई रोजगारिको अवस्था सृजना गराएर दक्ष कामदार अभाव न्युनिकरण गर्न महासंघले सहयोग गरिरहेको दावी गरिन् ।
विभिन्न संघ सस्थहरुबाट सञ्चालन हुने तालिमहरु रोजगार मुलक र उपयोगि हुनुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले श्रम बजारमा रहेको दक्ष जनशक्ति अभाव पूर्ति गर्न तालिम उपयोगि र रोजगार मुलक हुनुपर्नेमा जोड दिएका हुन् । उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष समेत रहेका उपाध्ययले विराटनगर महानगरपालिका सँग सहकार्य गरि महासंघ मोरङले छुट्टै रोजगार सुचना केन्द्रसमेत स्थापना गरि औद्योगिक क्षेत्रमा रहेको कामदार अभावलाई पूर्ती गर्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा महासंघका केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापति, नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ का महासचिव भैरव रिजाल, श्रम कार्यालय विराटनगरका प्रमुख मणिनाथ गोपले, घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका निमित्त प्रमुख शुशिला श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न उद्यमीहरुले सञ्चान गरेको एक महिने तालिमका सहभागिलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
प्रकाशित समय १७:५३ बजे

















