गृहपृष्ठ विश्वकप सेमिफाइनल : बलियो फ्रान्स, चतुर बेल्जियम

विश्वकप सेमिफाइनल : बलियो फ्रान्स, चतुर बेल्जियम

belgium vs france

रुसमा जारी विश्वकप फुटबलमा मंगलबार राति फाइनल प्रवेशका लागि फ्रान्स र बेल्जियम भिँड्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सेन्ट पिटर्सवर्ग रङ्गशालामा हुनेछ ।
उपाधी दाबेदार ब्राजिललाई पराजित गर्दै ३२ वर्षपछि सेमिफाइनलमा पुगेको बेल्जियम र एकपटक उपाधि जितिसकेको फ्रान्सबीचको प्रतिस्पर्धा निकै रोचक हुने ठानिएको छ ।

रक्षापंक्ति सामान्य भएपनि बेल्जियमको अग्रपंक्ति मजबुद रहेको यसअघिका खेलले देखाएको छ । फ्रान्सको रक्षापंक्तिदेखि अग्रपंक्ति दुबै सन्तुलित छ । बलिया र अनुभवी खेलाडीहरुको वाहुल्य रहेको दुवै टोलीका खेलाडीहरुसँग युरोपका शीर्ष लिगहरु खेलेको अनुभव छन् । फ्रान्सेली टोलीमा किलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा र ओलिभर जिराड जस्ता खेलाडी छन् भने बेल्जियमको टोलीमा केभिन डी ब्रुयना, रोमेलु लुकाकु, इडेन हाजार्डजस्ता स्टार खेलाडी छन् । फ्रान्सका कान्टे र बेल्जियमका इडेन हाजार्ड दुबै इङ्लिस क्लब चेल्सीमा आवद्ध छन् ।
मंगलबारको खेलमा बेल्जियमका थोमस म्युनियर भने मैदानमा हुने छैनन् । दोहोरो पहेंलो कार्ड पाएका कारण उनले सेमिफाइनलको खेल गुमाउने भएका हुन । उनको स्थानमा यानिक कारास्को मैदान उत्रिने सम्भावना छ ।

यी दुई टोलीको विश्वकपमा दुई पटक भेट भएको छ । फ्रान्सले सन् १९३८ को विश्वकपको पहिलो चरणमा बेल्जियमलाई ३–१ ले हराएको थियो । विश्वकपमा पछिल्लो पटक १९८६ मा प्रतिस्पर्धा भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स ४–२ ले विजयी भएको थियो । यस्तै फ्रान्सले सन् १९८४ मा भएको युरोपियन च्याम्पियनसिपको समूह चरणमा बेल्जियमलाई ५–० ले हराएको थियो । त्यसपछि प्रमुख प्रतियोगिताहरुमा यी दुई टोलीको भेट नभएपनि हालसम्म आठ मैत्रीपुर्ण खेलमा भने एकअर्का विरुद्ध खेलिसकेका छन् । फ्रान्ससँग भएका पछिल्ला तीन मैत्रीपूर्ण खेलमा बेल्जियम अपराजित छ । एक खेलमा विजयी भएको छ भने दुई खेलमा बराबरी भएको छ । पछिल्लो पटक सन् २०१५ को जुनमा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । मुख्य प्रतिस्पर्धा, अरु प्रतिस्पर्धा तथा मैत्रीपूर्ण खेल गरी फ्रान्स र बेल्जियमबिच अहिलेसम्म ७३ पटक भेट भएको छ । त्यसमा बेल्जियम ३० तथा फ्रान्स २४ खेलमा विजयी भएको छ । १९ खेल भने बराबरीमा टुंगिएका छन् । फ्रान्सले सन् १९९८ को विश्वकप जितेको थियो भने पछिल्लो पल्ट सन् २००६ मा फाइनलसम्मको यात्रा गर्न सफल भएको थियो ।

प्रकाशित समय ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु