गृहपृष्ठ सार्वजनिक खरिद ऐन संशोधन गर्न निर्माण व्यवसायीको माग
सार्वजनिक खरिद ऐन संशोधन गर्न निर्माण व्यवसायीको माग
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीको समस्या स्थायी रुपमा समाधान गर्न यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न माग गरेको छ । महासंघ प्रतिनिधि मण्डलले मंगलबार कानुनमन्त्री शेरबहादुर तामाङलाई भेटी व्यवसायमैत्री ऐन कानुन निर्माण हुनुपर्नेमा जोड दिएको हो ।
महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलले मन्त्री तामाङलाई भेटी व्यवसायीले भोग्नुपरेका समस्याबारे जानकारी गराएको हो । महासंघको मागपत्र बुझ्दै मन्त्री तामाङले विकास निर्माणमा बाधा पुर्याउनेखालका सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधान संशोधनका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए ।
प्रतिनिधि मण्डलमा महासचिव रामशरण देउजा, सदस्य शिव चौलागाईं, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायत सहभागी थिए ।
यसैबीच, महासंघका उपाध्यक्ष पेम्बा लामा शेर्पाको बिरुवा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको जोमसोम– कोरला नाका– अपर मुस्ताङ, तामखोला सडकखण्डको निर्माण कार्यमा संलग्न २० मजदुरको ट्रिप्पर दुर्घटनामा निधन भएकोमा महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।
महासंघले विज्ञप्ति जारी गरी मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेमा भएको दुर्घटनामा घाइते भएका १२ जनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेको उचित उपचारका लागि आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन स्थानीय तह, ट्रेड युनियन, आयोजना कार्यालय, स्थानीय प्रहरी र सम्बन्धित निर्माण व्यवसायीलाई अनुरोध गरिएको छ ।
(रासस)
प्रकाशित समय १८:५० बजे

















