गृहपृष्ठ मुक्तिनाथको ७९औं शाखा काठमाडौंको कोटेश्वरमा
मुक्तिनाथको ७९औं शाखा काठमाडौंको कोटेश्वरमा
मुक्तिनाथ विकास बैंकले राजधानीको कोटेश्वरमा ७९औं शाखा सञ्चालनमा ल्याएको छ । कोटेश्वर शाखाको इतिहासविद् सत्यमोहन जोशीले उद्घाटन गरेका छन् । जोशीले बचत खाता खोलेर औपचारिक रुपमा बैंकिङ कारोबार सुरु गरेको बैंकले जनाएको छ ।
शाखा उद्घाटन कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस)को पनि उपस्थिति थियो । प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा लिने भावी रणनीतिबारे जानकारी गराएका थिए । बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने योजना रहेको उनले बताए ।
बैंकले उपत्यकामा कोटेश्वर, महाराजगन्ज, कमलादी, सीतापाइला, कुलेश्वर, लगनखेल, न्युरोड, नयाँ बानेश्वर, चाबहिल, माछापोखरी र भक्तपुरको कमलविनायक गरी ११ शाखा सञ्चालनमा ल्याएको छ । जोरपाटी, ठमेल, कुपण्डोल र बत्तीसपुतलीमा छिट्टै शाखा सञ्चालन गर्ने तयारीमा रहेको बैंकले जनाएको छ । मुक्तिनाथले आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकैसाथ सञ्चालन गर्दै आएको छ ।
प्रकाशित समय १३:१७ बजे

















