गृहपृष्ठ सरकार डा. केसीको ज्यान लिन खोज्दैछ : कांग्रेस

सरकार डा. केसीको ज्यान लिन खोज्दैछ : कांग्रेस

नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई वार्तामार्फत समस्या समाधानका लागि गम्भीर हुन आग्रह गरेका हुन् ।

डा. केसीको स्वास्थ्यस्थिति थप बिग्रँदै गएको खबरले आफुलाई गम्भीर बनाएको उल्लेख गर्दै देउवाले सरकार भने वेवास्ता गर्दै उनको ज्यान लिन खाजेको आरोप लगाएका छन् ।
चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत डा. केसीसँग वार्ता गरी उनका माग सम्बोधन गर्दै जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको पनि उनले स्मरण गराएका छन् ।

‘मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत जारी गरेको थियो’, देउवाले विज्ञप्तिमा भनेका छन्, ‘डा. केसीसँगको वार्ता, सरोकारवालासँगको छलफल, उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुबहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत् हल हुने मेरो दृढ निश्कर्ष छ ।’

सभापति देउवाले अप्रीय घटना भएमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने भन्दै सचेत गराएका छन् । यसका साथै देउवाले चिकित्सा शिक्षामा सुधारको अभियानप्रति नै गम्भीर घात हुने चेतावनीसमेत दिएका छन् । डा. केसी चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १७ दिनदेखि जुम्लामा आमरण अनशनरत छन् ।

bigyapti-newskarobar
नेपाली कांग्रेसद्वारा साेमबार जारी विज्ञप्ति ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु