गृहपृष्ठ आजदेखि अनलाइन सेयर कारोबार, कसरी गर्ने ? (तरिकासहित)
आजदेखि अनलाइन सेयर कारोबार, कसरी गर्ने ? (तरिकासहित)
आजै लगानीकर्तालाई युजरनेम र पासवर्ड
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आजदेखि अनलाइन सेयर कारोबार सुरु गर्दैछ । पूर्ण अनलाइनको परीक्षण कारोबारका लागि धितोपत्र ब्रोकर कार्यालयहरूले आजै लगानीकर्तालाई युजरनेम र पासवर्ड प्रदान गर्नेछन् ।
युजरनेम र पासवर्ड पाएपछि लगानीकर्ता आफैंले सेयर खरिद–बिक्री प्रकिया हेर्न सक्नेछन् । तर, आजै स्वचालित ढंगले सेयर खरिद–बिक्री भने नहुने स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले बताए । ‘अनलाइन कारोबार आफैं गर्नका लागि लगानीकर्ताले केही समय पर्खनैपर्छ,’ उनले भने, ‘स्वचालित ढंगले किनबेच नभए पनि लगानीकर्ताले सेयर किनबेच प्रक्रिया हेर्न सक्नेछन् ।’ अनलाइन सिस्टम पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म पुरानै सिस्टमबाट कारोबार हुन्छ । नेप्से तोकेको मापदण्डअनुसार डाटा सेन्टरसँग पूर्वाधार भाडामा लिएर अनलाइन कारोबार परीक्षण गर्न लागिएको हो ।
यो प्रणाली दुई महिनाभित्रै पूर्ण कार्यान्वयनमा आउने नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए । ‘बढीमा दुई महिनाभित्र परीक्षण सफल हुने हाम्रो विश्वास छ,’ उनले भने, ‘त्यसपछि पूर्ण कार्यान्वयनमा आउनेछ ।’
नेपाल धितोपत्र बोर्डले अनलाइन कारोबार सुरु भएसँगै नेपालको पुँजीबजार नयाँ युगमा प्रवेश गर्ने बताएको छ । सेयर बजार र सेयर बजार कारोबारलाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउन निकै मेहनत गरेका धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले धितोपत्र बजार लगानीकर्ताका लागि सहजमात्र नभएको बताए । स्टक ब्रोकरहरु पनि निकै उत्साहित देखिएका छन् ।
अनलाइन कारोबार गर्ने तरिका र यसका फाइदालगायतबारे स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी :

कारोबार गर्ने तरिका
साउन १ गतेदेखि पूर्ण अनलाइन कारोबारको परीक्षण सुरु हुन्छ । लगानीकर्ताले मंगलबारदेखि नै अनलाइनबाट आफैं किनबेच गर्न सक्ने होइन । अहिले पुरानो सिस्टमले नै कारोबार गर्छ । परीक्षण अवधिमा पुरानो सिस्टमले नयाँ सिस्टमलाई कारोबारसम्बन्धी अर्डर पठाइदिन्छ । तिनै अर्डर नयाँ सिस्टममा परीक्षण हुन्छ । जुन दिनदेखि नयाँ सिस्टमले पूर्णरुपमा काम गर्छ, त्यस दिनदेखि लगानीकर्ताले आफैं सेयर खरिद–बिक्री गर्न सक्नेछन् ।
उत्साह
अनलाइन कारोबारका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर कम्पनी र लगानीकर्ता सबै एकदमै उत्सुक छन् । आजको युगमा विश्वले प्रयोगमा ल्याइसकेको सेयर किनबेचमा अनलाइन कारोबार प्रणालीको प्रयोगका लागि हामी सबै आतुर छौं ।
प्रसार र प्रयोग
धितोपत्र बोर्ड, नेप्से र ब्रोकर कम्पनीहरु समेतको सहभागितामा देशका विभिन्न सहरमा लगानीकर्ता सचेतना कार्यक्रम भइरहेका पनि छन् । अझ धेरै गर्न बाँकी छ । प्रविधि भएरमात्र हुँदैन, प्रविधिको प्रयोगका लागि सरोकारवालासमक्ष पुग्न जरुरी छ भन्नेमा दुईमत छैन ।
अपेक्षा
अनलाइन कारोबारसँगै पुँजीबजारको पहुँच विस्तार व्यापक हुन्छ । काठमाडौंको पनि पुतलीसडकमा सीमित सेयर बजार देशका कुना–कुना जहाँ इन्टरनेट सुविधा छ, त्यहाँ पुग्छ र विदेशसम्म फैलिन्छ । विश्वभर रहेका नेपालीले नेपाली कम्पनीका सेयर खरिद गर्न सक्छन् । पुँजीबजारको दायरा व्यापक बढेर जान्छ ।
प्रकाशित समय ०८:४३ बजे

















